नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरि स्थगित भएको छ ।
बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि बस्नेगरि स्थगित गरिएको हो ।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनुभयो । उहाले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसंगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीसंग सीमा मिचेको तथ्य भए संसदमा प्रस्तुत गर्न उहाले माग गर्नुभयो ।
सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । तर बिरोध कायमै रहेपछि उहाले जेठ २६ गते बस्नेगरि बैठक स्थगित गर्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै सांसदहरुको विरोधका कारण राष्ट्रियसभाको बैठक केहिदिन देखि प्रभावित हुदै आएको छ ।

