संघीय सरकारले धनुषा–सिरहा जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गतको कमला पुलको स्थानमा तत्काल नयाँ पुल निर्माण नगर्ने स्पष्ट पारेको छ । स्थानीयवासीले विगत पाँच वर्षदेखि नयाँ पुल निर्माणको माग गर्दै आन्दोलन गरिरहे पनि सरकारले हालको प्राथमिकता भाँसिएको कमला पुलको मर्मत तथा पुनस्र्थापना गरेर सञ्चालनमा ल्याउनु रहेको जनाएको छ ।
जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा नयाँ पुल निर्माणको विषय समेटिएको छैन । यसप्रति असन्तुष्टि जनाउँदै धनुषा– सिराहाका बासिन्दाले दिनहूँ दबाबमूलक आन्दोलन गर्दै आएका छन् । हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीका अनुसार पुललाई पुरानै डिजाइन र क्षमतामा फर्काउने गरी तीव्र गतिमा पुनस्र्थापना कार्य भइरहेको छ । उनका अनुसार भत्किएको, धसिएको तथा क्षतिग्रस्त भागको मर्मत तथा आवश्यक संरचना थप्ने काम अन्तिम चरणमा पुगेको छ। म्याद थपिएपछि आगामी असारभित्र काम सम्पन्न गरी पुल हस्तान्तरण गर्ने र वर्षायाम सकिएलगत्तै सवारी सञ्चालनका लागि खुला गर्ने लक्ष्य रहेको उनले बताए ।
निर्देशनालयका अनुसार पुल हस्तान्तरण भएपछि पनि पाँच वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) लागू हुनेछ। यस अवधिमा पुलमा देखिने कुनै पनि प्राविधिक समस्या समाधान गर्ने जिम्मेवारी सम्बन्धित ठेक्केदार कम्पनीकै हुनेछ । यही कारण पाँच वर्षभित्र नयाँ पुल निर्माणको सम्भावना नरहेको अधिकारीहरूको भनाइ छ। उनीहरूका अनुसार भविष्यमा पुल सञ्चालन अयोग्य बनेको अवस्थामा मात्रै नयाँ पुल निर्माणको प्रक्रिया अघि बढ्न सक्छ । हाल पुलको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरिएको छ । बाँकी रहेको स्टिल संरचना जडान तथा एप्रोच रोड व्यवस्थापनको काम असारभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
यसपटक पुलको भार कम गर्न सिमेन्टेड स्ल्याबको सट्टा स्टिल संरचना प्रयोग गरिएको छ, जसले पुललाई थप सुरक्षित र टिकाउ बनाउने अपेक्षा गरिएको छ । प्राविधिक रूपमा सिराहातर्फ पहिले रहेका दुई स्पानको स्थानमा तीन नयाँ स्पान निर्माण गरिएको छ । धनुषातर्फको संरचनामा ठूलो समस्या नदेखिएकाले त्यहाँका स्ल्याब हटाउन आवश्यक नरहेको प्राविधिक अध्ययनले निष्कर्ष निकालेको छ । असारसम्म पुलको सुपरस्ट्रक्चर निर्माण सम्पन्न भएपछि बर्खापछिको नदी नियन्त्रण कार्य पनि दिगो रूपमा सम्पन्न गरिने निर्देशनालयले जनाएको छ ।
यद्यपि स्थानीयवासी भने पुनःर्निर्माण गरिएको कमला पुल दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो नहुने दाबी गर्दै नयाँ पुल निर्माणको मागमा अडिग रहेका छन् । उनीहरूका अनुसार २०७८ सालको बाढीले पुलका दुई जग भाँसिएर चार स्पान क्षतिग्रस्त भएको थियो, जसले निर्माण गुणस्तरमाथि नै प्रश्न उठाएको छ । ४६९ मिटर लामो कमला पुल निर्माणका लागि २०६८ साल जेठमा पप्पु–लुम्बिनी जेभीसंग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल २०७१ मंसिरमै सकिनुपर्ने भए पनि पटक–पटक म्याद थपिँदा काम लामो समयसम्म अलपत्र नै रह्यो ।
२०७८ असार १७ गते पुल उद्घाटन हुनुअघि नै आएको भीषण बाढीले संरचनामा ठूलो क्षति पु¥याएको थियो । पछि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले अघि बढाउँदै आएको छ । मुलुककै ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्गमा पर्ने कमला पुल सञ्चालनमा नआउँदा सिराहा, सप्तरी र धनुषाका बासिन्दाले ठूलो सास्ती खेप्दै आएका छन् । वर्षायाममा जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने तथा छोटो दूरी पार गर्न मिर्चैया–ढल्केवर हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले भने पुनस्र्थापना कार्य सम्पन्न भएपछि स्थानीयले छिट्टै सहज र सुरक्षित यात्रा गर्न पाउने विश्वास व्यक्त गरेको छ ।
ठेक्का सम्झौताअनुसार मर्मत सम्भारपश्चात् हस्तानान्तर हुने उक्त पुलको नियमित रेखदेख र मर्मत सम्भारको जिम्मेवारी ठेक्केदार कम्पनीको रहेको छ । यस शर्त अनुसार हस्तानान्तरण भएको पुल आगामी ५ वर्षसम्म सम्बन्धित ठेक्केदार कम्पनीले हेर्ने भएकाले त्यो अवधीभित्र नयाँ पुल निर्माणको कुनै अवस्था नरहेको आयोजना निर्देशक नेपालीले प्रस्ट पारे । असार मसान्तसम्म सुपरस्ट्रक्चरको काम सकिएपछि र वर्षायामपछिको नदी नियन्त्रण कार्य सम्पन्न भएपछि कमला पुलले स्थायी रूपमा निकास पाउने अपेक्षा गरिएको छ ।
हालको १० प्रतिशत काममा विशेष गरी स्टिल स्ट्रक्चर राख्ने र एप्रोच रोडको व्यवस्थापन गर्ने कार्य बाँकी छ, जुन असारभित्रै सक्ने लक्ष्य निर्देशनालयले जनाएको छ । निर्माण सम्पन्न भएको पुलको उदघाट्न नहँुदै २०७८ असार १७ गते आएको भिषण बाढीको भेलले क्षतिग्रस्त बनाएको थियो । बाढीले पुलको दुईवटा जग भाँसिएर ४ वटा स्पानमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहा -पूर्व) तर्फको २ वटा स्लाव हटाएर तीनवटा नयाँ स्पान निर्माण गरिएको छ । उता धनुषा -पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनमा देखाइएको छ ।

