राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिकास्तरीय नगर अधिविशेन मधेश प्रदेशका जिल्लाहरुमा विवादित बन्दै गएको छ । नगरमाथि आफ्नो कब्जा जमाउन विभिन्न समूहहरु आ आफ्नो दाबी गर्दा सांसदलाई दुव्र्यवहार र कार्यकर्ताबीच कुटाकुटदेखि पार्टी कार्यालयमा तालाबन्दीसम्मको घटना भइसकेको छ ।
शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले तालाबन्दी गरेका छ्न । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टा छुट्टै अधिवेशन गरेर आ आफ्नो दाबी गर्न खोज्दा विवाद उत्पन्न भएको हो । बितेको जेठ १५ गते पहिला एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरेको थियो ।
पहिलो पक्षले राकेश यादव नेतृत्वको समूहले केही वडाध्यक्ष र अन्य कार्यकर्ताहरुलाई समेत जानकारी नै नदिई हाइवेभन्दा १० किलोमीटर टाढा गएर लुकीछिपी अधिवेशन गरेकाले भनी पछि जेठ १७ गते छुट्टै अधिवेशन गरे । ती अधिवेशनबाट राकेश यादवकै नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरियो । शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी राकेश यादवले भने जेठ १७ गत्ते आफूहरुले गरेको सम्पन्न गरेको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए ।
अधिवेशनबाट चयनित समितिलाई सदर गर्दै पदाधिकारीहरुको नामावली पार्टीको अधिकारिक वेभसाइटमा अपलोड समेत गरियो । पछि फेरि जेठ २० गत्ते वेबसाईटबाट उक्त समितिको नाम हटाइए पछि विवाद सृजना भएको हो । आफूहरुको नाम वेबसाईटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरुले पार्टी कार्यालय धनुषामा तालाबन्दी गरेका हुन ।
यादवले भने रास्वपामा गुटबन्दी हुनु राम्रो होइन । दुबै पक्षलाई समेटेर एक पटक पुनः अधिवेशन गर्नुपर्ने माग जिल्लादेखि केन्द्रसम्म राखेका छौं । तर कसैले पनि चासो नलिएपछि बाध्य भएर जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हौं । उनले अधिवेशनको विवाद समाधान गर्नका निम्ती केन्द्रीय कार्यालयमा आफूले सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमा सम्पर्क गर्न भनिरहेका छन ।
तर जिल्ला कार्यसमितिमा सम्पर्क गर्न खोज्दा कुनै पदाधिकारी सम्पर्कमा आउन चाहिरहेका छैनन । पार्टी कार्यालयमा आउंदा कोही भेट भइरहेको छैन । जिल्ला सभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा नआउनु दुखद रहेको बताए । यादवले निश्पक्ष रुपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए ।
उनले पुनः अधिवेशन नभएसम्म आफूहरु ताला नखोल्ने चेतावनी दिएका छन् । उता प्रतिकलाई सम्पर्क गर्न खोज्दा पटक पटक फोन गर्दा सम्पर्क हुन सकेन । यसअघि पार्टीको अनुशासन आयोगले विवादित स्थानका अधिवेशन स्थगित गर्न निर्देशन दिए पनि जनकपुरधाममा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि चुलिएको हो ।
रास्वपाको अनुशासन आयोगले जेठ १९ गते जारी गरेको निर्देशनमा विवाद देखिएका विभिन्न पालिकासहित जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशनसमेत स्थगित गर्न भनिएको थियो । तर, सोही दिन उपमहानगर समितिको नेतृत्व चयनका लागि मतदान गराइएको थियो ।
अधिवेशनमा २१ मत खसेको जनाइएको छ । वडा सभापतिहरूलाई मात्र प्रतिनिधि बनाएर गरिएको मतदानबाट ललन नायक १६ मतसहित सभापतिमा निर्वाचित भएको घोषणा गरिएको थियो । उनका प्रतिस्पर्धी जितेन्द्र महासेठले ५ मत प्राप्त गरेका थिए । तर, अधिवेशन प्रक्रिया पार्टी विधानविपरीत रहेको भन्दै महासेठसहित स्थानीय नेता कार्यकर्ताले आपत्ति जनाएका छन् ।
सभापतिका आकांक्षी महासेठले अधिवेशनका नाममा वडा सभापतिहरूलाई छलफलका लागि बोलाएर बिना कुनै सहमति र तयारीकै एकाएक मतदान गराइएको आरोप लगाएका छन् ।

