परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ ।
स्वदेश फर्कनेक्रममा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री खनालले भारत भ्रमणका क्रममा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल भएको उहाँले जानकारी दिनुभयो । भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने सहमति भएको उहाँले बताउनुभयो । मन्त्री खनालले भारतको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका ८४ वटा परियोजनाको भर्चुअल हस्तान्तरण गरिएको बताउनुभयो । भाषा अनुवाद प्लेटफर्मसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समेत समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिनुभयो । झण्डै दुई वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण अब पुनः सक्रिय हुने र आगामी केही महिनाभित्र दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनसक्ने अपेक्षा रहेको उहाँको भनाइ थियो । पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, कालापानीलगायत सीमा सम्बन्धी विषयमा नेपालले कूटनीतिक माध्यमबाट आफ्नो धारणा राखिरहेको जानकारी दिनुभयो । उहाँले सीमा समस्याको समाधान तथ्य, प्रमाण र आपसी संवादका आधारमा खोजिने बताउनुभयो ।
दुवै देशबीच भएका छलफल र सहमतिले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै व्यापार, लगानी, ऊर्जा, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा परिणाममुखी सहकार्यका लागि आधार तयार भएको सरकारको विश्वास छ ।

