राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा ललन नायक निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिद्वन्द्वीलाई ३४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । उनले १ सय ५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका एकमात्र प्रतिद्वन्द्वी जितेन्द्र महासेठले ७१ मत प्राप्त गरे ।
पहिलो पटक उपमहानगर सभापतिमा निर्वाचित भएका नायक तदर्थ समितिको सभापति थिए । उनी उपमहानगरको संस्थापक सभापति रहेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा नायकको सक्रियताले रास्वपाका उम्मेदवारलाई भारी मत प्राप्त भएको थियो । जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको मतदानको परिणाम साँझ सार्वजनिक गरिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको २५ वटाका वडा प्रतिनिधिहरुले चुनावमा भाग लिएका थिए । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम नगर समितिको सभापतिसहित पदका लागि भएको चुनावमा रास्वपाका प्रवक्तासमेत रहेका स्थानीय सांसद मनिष झाले पनि चासो लिएका थिए ।
अघोषित रुपमा उनले महासेठलाई सघाएको बताइएको छ । यसअघि जनकपुरधाम उपमहानगरको सभापतिको चुनावमा वडा कमिटीका सभापतिहरुलाई मात्र सहभागी गराइएको थियो । त्यसमा पनि नायक नै विजयी भएका थिए । तर त्यो चुनाव वैधानिक प्रक्रियाबाट नभएको भन्दै रद्द गरिएको थियो ।

