राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशको कुनै जिल्लामा अधिवेशन टुंग्एिको छैन । मधेश प्रदेशको पाँच वटा जिल्लामा आइतबार अधिवेशन हुने तोकिएको थियो । तर कुनै जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । केही जिल्लामा नाराबाजी भएको छ ।
सिरहा जिल्लामा सोमबार जिल्ला नेतृत्वका लागि चुनाव गराउने सहमति भएपछि अधिवेशन स्थगित गरिएको छ । महोत्तरी जिल्लामा अधिवेशन स्थगन गराउन असन्तुष्ट पक्षले चर्को नाराबाजी गरेका थिए । अधिवेशन हल बाहिर चर्का नाराबाजी गर्न थालिएपछि अधिवेशन स्थगन गरिएको सूचना निर्वाचन समितिले जारी गरेको छ । चुनावको तिथि तोकिएको छैन ।
अर्को सूचना प्रकासित भएपछि मात्र चुनाव हुने जनाइएको छ । सिरहा जिल्लामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भए पनि सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास विफल भएको छ । मधेश प्रदेशका सभापति समेत रहेका सांसद तपेश्वर यादवको गृह जिल्ला समेत रहेको सिरहामा सोमबार चुनाव गराउने सहमति भएको छ । जिल्ला नेतृत्वको लागि सिरहामा दुई समूह प्रतिस्पर्धा गर्ने अडान नछाडेपछि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने सहमतिमा निर्वाचन समिति पुगेको छ ।
सिरहा जिल्लामा सांसदहरुको गुटबन्दीले जिल्ला नेतृत्वमा सहमति हुन नसकेको बताइएको छ । पुराना र नयाँ नेता, कार्यकर्ताबीच जिल्लामा चर्को द्वन्द्व देखिएको छ । जिल्ला अध्यक्षमा हरी प्रसाद मैनाली फेरि उम्मेदवारी दिने सुरमा छन् । उनी संस्थापक जिल्ला सभापति हुन् । समानुपातिक सांसद पुरुषोत्तम यादवले रामसोगारथ यादवलाई च्यापेका छन् ।
प्रदेश सभापति तपेश्वर यादवले शुभाष कुमार यादवलाई च्यापेका छन् । अन्य सांसदहरु खुलेका छैनन् । तर पुरुषोत्तम यादवले रामसोगारथ यादवलाई पार्टीमा प्रवेश गराएका हुन् । उनी दुई पटक नरहा गाउँपालिकामा झिनो मतान्तरले पराजित भएका नेता हुन् । पहिले उनी जसपा नेपालमा थिए । पुरुषोत्तम र तपेश्वर यादव एउटै निर्वाचन क्षेत्रको भएकाले दुबै जना आफ्नो वर्चस्व कायम गर्न उम्मेदवार उठाएका छन् ।
सिरहामा संस्थापक सभापति मैनाली, रामसोगारथ यादव र सुभाष यादवले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिको संयोजक डा.इन्द्रजीत प्रसाद महतोले जनाए अनुसार चुनावको प्रक्रिया सोमबार बिहान १० बजेबाट अगाडी बढ्ने छ । उनले जारी गरेको सूचनामा सोमवार बिहानदेखि मतदान हुने उल्लेख छ ।
यसैबीच सर्लाहीको आइतबार हुने जिल्ला अधिवेशनमा प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ । सर्लाहीको हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका थिए । तर अपराह्न करिब पौने ४ बजे निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।
जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्य पूरा नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको बताए । ‘पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण छन्’ उनले भने, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी छ । स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि पनि देखिएकोले तत्काल निर्वाचन प्रक्रिया सञ्चालन गर्न सम्भव नभएको उनले बताए ।
वर्तमान जिल्ला सभापति तथा सभापति पदका उम्मेदवार समेत रहेका सरोज बानियाँले पार्टीको आधिकारिक डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा प्रक्रियागत त्रुटि भएको दाबी गरे । आफू संस्थापक सभापति रहेको र पहिलो अधिवेशनबाट पूर्णता पाउनुपर्ने दाबी गर्दै पुनः उम्मेदवारी दिने जनाएका छन् । तर युवाहरुमाझ अत्यन्त लोकप्रिय कृष्णनन्दन यादवले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि बानियाँले छलछाम गरी अधिवेशनलाई रोकेको आरोप लागेको छ ।
मधेश प्रदेशको अधिवेशन जेठ २८ गते घोषणा भइसकेको छ । त्यस अगावै जिल्ला अधिवेशनहरु टुंग्याउनु पर्नेछ । रोकिएका जिल्लाहरुमा पनि त्यस अगावै अधिवेशन गराइने तयारी भइरहेको छ । मधेश प्रदेशमा ८ वटा जिल्ला छन् । त्यस मध्ये कुनै जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन ।
जिल्ला अधिवेशनमा विवाद देखिएकोले प्रदेश अधिवेशनपनि समयमै हुनेमा रास्वपाका नेताहरु विश्वस्त हुन सकेका छैनन् । धनुषा जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ । धनुषाधाम नगरपालिकामा अधिवेशन हुन सकेको छैन । पर्सा र बारा जिल्लामा पनि अधिवेशन रोकिएको छ । रौतहट जिल्लामा पनि अधिवेशन हुन सकेको छैन ।
महोत्तरी र सप्तरी जिल्लामापनि नेतृत्व चयनमा समस्या भएको छ । मधेश प्रदेशमा ३० जना सांसद प्रत्यक्ष निर्वाचित छन् । उनीहरुले आफ्नालाई छान्न सक्रिय भएको कारण विवाद बढेको बताइन्छ । मधेश प्रदेशमा नयाँ र पुरानाबीच पनि विवाद चर्किएको छ ।

