बिपक्षी दलको विरोधका कारण प्रतिनिधि सभाको बैठक अबरुद्ध भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बिपक्षी दलका सांसदहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्री उपस्थीत भएर माफी माग्नुपर्ने अडानका साथ विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो । त्यसअघि बैठकमा बिपक्षी सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बोल्नका लागि समय दिनुभएको थियो । सो क्रममा नेकपाका सांसद बर्षमान पुनले सदनको गतिरोध अन्त्य गर्नको लागि सदन स्थगित गरेर छलफलमा जुट्न आग्रह गर्नुभयो । सीमाका बिषयमा प्रधानमन्त्रीको जवाफमा आफुहरुको अडान कायमै रहेको उहाले बताउनुभयो । उहाले सदनलाई सुचारु गर्न सत्तारुढ दलबाट बिभिन्न प्रस्ताव आएको अवस्थामा केही समय बैठक रोकेर छलफल गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्तिप्रति भूलसुधार गराउन र सबैको साझा धारणा बन्ने गरी संकल्प प्रस्ताव पारित गरि यस बिषयलाई टुङ्ग्याउन सुझाव दिनुभयो । उहाले कसैको स्वार्थका लागि करका दर हेरफेरको बिषय समेत गम्भीर रहेको बताउनुभयो ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका बिषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने स्पष्ट पार्नुभयो ।
त्यसैगरि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय सामान्य नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो । यस बिषयमा अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उहाको भनाइ छ ।
बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर बिपक्षी सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

