मधेश प्रदेशमा विवाद झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन अघि बढने प्रक्रिया शुरु भएपनि पुनः अवरुद्ध भएको छ ।
प्रदेशका कुनैपनि जिल्लाका पूर्ण रुपमा पालिकास्तरीय नगर अधिवेशन सम्पन्न नसकेपनि ३० प्रतिशतसम्म नगर अधिवेशन सम्पन्न भएको अवस्थामा जिल्ला अधिवेशन गर्न पाउने केन्द्रिय निर्वाचन समितिको परिपत्र अनुसार जिल्ला अधिवेशन प्रक्रिया अघि बढाइएको हो । मधेश प्रदेशका पर्सा, रौतहट, सिरहा, सप्तरीसहितका चार जिल्लामा उदघाटन सत्र सम्पन्न भई सर्वसहमतिबाट खोज्ने प्रयास गर्दा गरिएको थियो । पर्सा र सिरहा जिल्लामा सोमवार नै निर्वाचन प्रक्रियामा जाने भनी उम्मेदवारी दर्तापछि मतदान प्रक्रियाको क्रममा विवाद भई पुनः अधिवेशन रोकिन गएको छ ।
पर्सा जिल्लामा निर्वाचनको सबै प्रक्रिया पुरा भई मतदानकै क्रममा लेबी विवादले गर्दा मतदान प्रक्रिया अवरुद्ध भएको जनाइएको छ । निर्वाचन अधिकृत डा. नन्दन यादवले प्रतिनिधिले लेबी नतिरेको विवादले मतदान प्रक्रिया अवरुद्ध भएको बताएका छन् । जिल्ला सहसचिव कृष्ण पासवानले समायोजन भएर आएका प्रतिनिधि मध्येले लेबी रकम नतिरेको भनी कुरा उठेपछि विवाद भई मतदान प्रक्रिया अहिले अवरुद्ध भएको र छलफलपछि प्रक्रिया अघि बढाइनेछ ।
पर्सा जिल्लामा सभापति पदका सुशिल साह कानु र वर्तमान सभापति बुद्धिप्रसाद पन्तले उम्मेदवारी दिएका छन् । पर्सा जिल्लाको १४ पालिका मध्ये ६ वटामा मात्रै नगर अधिवेशन सम्पन्न भएपनि केन्द्रिय निर्वाचन समितिको परिपत्र अनुसार ३० प्रतिशत नगर अधिवेशन सम्पन्न भएमा पनि जिल्ला अधिवेशन गर्न पाउने प्रावधान अन्तर्गत जिल्ला अधिवेशन हुन लागेको हो । जिल्लाको जगरनाथ गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, ठोरी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र पर्सागढी नगरपालिका नगरअधिवेशन हुन बांकी छ ।
यता सिरहा जिल्लामा समेत उद्घाटन सत्र सम्पन्न मंगलवार निर्वाचन प्रक्रियामा जाने भनी तया भइसकेको अवस्थामा प्रतिनिधि सभा सांसदहरुले कार्यसमिति चयन गरी दिएको नामावलीमा सहमति खोज्न प्रयास गर्दा विवाद उत्पन्न भई झडप भएको बताइएको छ । सांसद पुरुषोत्तम यादवका उम्मेदवार रामसोगारथ यादव नेतृत्वको कार्यसमितिमा सहमति गर्न भनेपछि विवाद उत्पन्न भएको बताइएको छ ।
सभापतिका लागि वर्तमान तदर्थ समितिका सभापति हरिप्रसाद मैनाली, तपेश्वर यादवका उम्मेदवार सुभाष यादव र रामसोगरथ यादवले उम्मेदवारी दर्ता गराएका छन् । पुरुषोत्तम यादवको पक्षमा सांसद शिव यादव र बब्लु गुप्ता पनि सहमति जनाइसकेको छ भने मधेश प्रदेशका सभापति समेत रहेका तपेश्वर यादवको पक्षमा सांसद शम्भु यादव रहेका छन् ।
पुरुषोत्तम यादव पक्षधर रामसोगारथ यादवको नाममा सहमति दबाव दिइरहेका छन भने तपेश्वर यादव र हरिप्रसाद मैनाली पक्षधर लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने अडानमा रहेका छन् । झडपको क्रममा पार्टीको ¥याट एक्सन टिमकै जिल्ला प्रमुख दिनेश थापालगायत केही व्यक्तिमाथि हातपात भएको बताइएको छ । झडपका कारण निर्वाचन प्रक्रिया मंगलबार बिहान ९ सम्मका लागि स्थगित गरिएको छ ।
सप्तरीमा उद्घाटन सत्र सम्पन्न भई सर्वसहमतिबाट कार्यसमिति चयन गर्ने विषयमा छलफल जारी रहेको छ । सर्वसहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने बताइएको निर्वाचन अधिकृत डा. विमल तिवारीले जानकारी दिएका छन् । सप्तरी जिल्लामा वर्तमान सभापति डम्बर नारायण साह, सदानन्द दास, उपेन्द्र साह, अमरेन्द्र यादव, अनिल यादव र ममता चौधरी लगायतका ८ जना नयाँ नेतृत्वका लागि आकांक्षी रहेका छन् । रौतहटमा प्रतिनिधि सभा सांसदहरुको कारण अधिवेशनको जारी निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
सांसदहरु राजेश चौधरी, रविन्द्र पटेल, गणेश पौडेल र गजला समीम मिकरानीसहित संगठन विभाग सदस्य उदय नारायण सापकोटा, लगायतका व्यक्तिहरुले सुरक्षाको कारण देखाउंदै निर्वाचन आयोगलाई तत्कालिन निर्वाचन रोक्न भनी दिएको निवेदनको आधारमा हाललाई स्थगित गरिएको छ । हुनत प्रक्रिया अघि बढाउन छलफल जारी रहेको बताइएको छ । धनुषा र बारा जिल्लामा भोली मंगलवारबाट अधिवेशन प्रक्रिया शुरु हुनेछ । उद्घाटन सत्र सम्पन्नपछि बन्द सत्रमा जानेछ ।
नयाँ नेतृत्व चयनका उद्घाटन सत्र सम्पन्नपछि सर्वसहमति खोज्ने प्रयास गरिन्छ । सहमति नजुटेपछि मतदान प्रक्रियामा जानेछ । धनुषाबाट वर्तमान सभापति लक्ष्मेश्वर यादव, अम्भु प्रसाद साह र सरोज पुर्वे नयाँ नेतृत्वका लागि आकांक्षी छन् । धनुषाको १८ स्थानीय तह मध्ये चारवटामा विवाद रहेको थियो । ती नगराईन नगरपालिका, हंसपुर नगरपालिका र धनुषाधाम नगरपालिकाको नगर अधिवेशन सम्पन्न हुन सकेको छैन भने मतदान प्रक्रियाको माग गर्दै आएका आन्दोलनमा उत्रेका गणेशमान चारनाथ नगरपालिकाको पनि विवाद समाधान भइसकेको छ ।
जिल्ला सभापति यादवले दिएको जानकारी अनुसार गणेशमान चारनाथमा प्रतिक नेतृत्वलाई सदर गरिसकिएको छ । आन्दोलनरत पक्षसँग सहमत भई आन्दोलन फिर्ता लिएपछि उद्घाटन सत्र आह्वान गरिएको हो । बारा जिल्लामा उमाशंकर रौनियार र बब्लु गिरी दुईजना सभापति उम्मेदवारका आकांक्षी रहेका छन । मंगलवार उद्घाटन सत्रपछि सर्वसहमतिबाट कार्यसमिति चयन गरिने प्रयास गरिनेछ । सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जाने उपसभापति भगवान महतोले जानकारी दिएका छन् ।
यता महोत्तरी र सर्लाही जिल्लामा विवादका कारणले अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश सभापति तपेश्वर यादव लगायतका संगठन विभाग प्रमुख समायोजन प्रतिनिधिले आ—आफ्ना अनुसार नगर तथा जिल्ला कार्यसमिति बनाउन खोज्दा नगरदेखि जिल्लासम्म विवाद अल्झेको आरोप लागिरहेको छ ।

