मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बनमा परेका छन् ।
उनी सहित ७ जना बिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भ्रष्टाचार मुद्दामा निलम्बनमा पर्ने उनी एकमात्र महानगरपालिकाका मेयर हुन् । अर्काकी छोरीलाई आफ्नो छोरी दाबीगर्दै गलत विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाको मेयरसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
मुद्दा दर्ता भएसँगै मेयर सिंह निलम्बनमा परेका छन् । मेयर सिंहले एक महिलाकी छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गरी जन्मदर्ता र त्यसका आधारमा नागरिकता प्रमाणपत्र दिलाउन भूमिका खेलेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । अनुसन्धानका क्रममा सिंहले वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तफैल अतियार ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलसँग मिलेमतोमा गलत विवरण बनाएको देखिएको न्यौपानेले बताएका छन् ।
गलत विवरणका आधारमा २०७१ कार्तिक २० गते जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको छ । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । आयोगका अनुसार जन्मदर्ता तथा नागरिकता जारी गर्ने क्रममा सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने, थपघट गर्ने, लुकाउने तथा गलत अभिलेख तयार गर्ने कार्य भएको छ ।
मेयर सिंहले किर्ते जालसाजी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, अख्तियार लगायतका निकायमा परेको थियो । तर राजनीतिक प्रभावको भरमा सिंह उपर कारवाहीमा ढिलाई भएको थियो । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका तत्कालीन संयोजक उपसचिव पुष्कर राना र सदस्य शाखा अधिकृत पशुराम पोखरेलले समेत घटनाको यथार्थ तथ्य लुकाइ गलत प्रतिवेदन पेस गरेको आरोप छ ।
उनीहरूले अनुसन्धानको आवश्यकता र कसुरको गम्भीरतालाई ढाकछोप गर्ने उद्देश्यले गलत प्रतिवेदन तयार पारेको अख्तियारको दाबी छ । गृह मन्त्रालयले सिंह उपर लागेको आरोपको छानविन गर्न दुई सदस्यीय समिति गठन गरेको थियो ।तर ती समितिले सिंहलाई जोगाउन झुठा प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसैले अख्तियारले भिखारी राय, तफैल अतियार ठकुराई र षडकुमार पोखरेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद तथा जरिवानाको मागदाबी गरेको छ । त्यसैगरी पुष्कर राना र पशुराम पोखरेलविरुद्ध पनि सोही ऐनअनुसार सजाय माग गरिएको अख्तियारले जनाएको छ ।
मेयर राजेशमान सिंह र रिता भट्टराईविरुद्ध भने मुख्य कसुरदारलाई सहयोग पु¥याई गैरकानुनी लाभ उपलब्ध गराएको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मतियारको हैसियतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सिंहविरुद्धका अन्य भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीव्र बनाएको स्रोतले जनाएको छ । यसैगरि सिंहविरुद्ध अख्तियारको हेटौंडा क्षेत्रीय कार्यालय तथा काठमाण्डुस्थित मुख्यालयमा एक दर्जनभन्दा बढी उजुरी विचाराधीन रहेको बताइन्छ ।
ती उजुरीहरूमा वीरगञ्ज महानगरपालिका–१६ छपकैयास्थित फोहोर तथा प्रदूषित पानी प्रशोधन केन्द्र परिसरमा नियम विपरीत माछा तथा बाख्रा पालन गरिएको विषय, ट्रयाक्टर खरिद प्रक्रियामा स्पेसिफिकेसन परिवर्तन गरी आर्थिक अनियमितता गरिएको आरोप, निर्वाचनअघि ठूलो संख्यामा कर्मचारी नियुक्ति तथा पछि गरिएको खारेजी, र स्थानीय कानुन तथा नियमावलीविपरीत मेयरको सचिवालयमा सल्लाहकारसहित कर्मचारी नियुक्त गरिएको विषय प्रमुख रहेका छन् ।
उजुरीमा सार्वजनिक जग्गा दीर्घकालीन रूपमा व्यक्ति विशेषलाई प्रयोग गर्न दिइएको, महानगरका विभिन्न आम्दानीका स्रोतबाट उठ्नुपर्ने राजस्व संकलन नगरिएको, उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका योजनामा अनियमितता भएको तथा महानगरको आर्थिक व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको दाबीसमेत गरिएको छ ।
किर्ते जालसाजी मुद्दामा मेयर सिंह गत हप्ता जिल्ला अदालत पर्साबाट धरौटीमा रिहा भएका थिए । उनलाई प्रहरीले पक्राउगरि अदालतमा बुझाएको थियो ।तर त्यस अघि उनी स्वयं अदालतमा हाजिर हुन गएको बखत ए क जना कर्मचारीको सहयोगमा उनी परिसर बाट सुरक्षित रुपमा बाहिरिएका थिए ।
मेयर निलम्बनमा परेसँगै उनका सल्लाहकार, स्वकिय सचिव लगायतका बिभिन्न पदमा नियुक्त भएकाहरुको जागिरपनि चट्ट भएको छ । जनता समाजवादी पार्टी (जसपा)नेपालबाट मेयरमा निर्वाचित सिंहले निर्वाचन आयोगको सहयोगमा गैरकानुनी बिभाजन भएको बेला उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका थिए । तर कारवाहीको प्रक्रिया अगाडि बढ्दै जाँदा सुरक्षाका लागि नेकपा एमालेमा उनी छिरेका थिए । हालै सर्वोच्च अदालतले जसपा नेपालकोविभाजनलाई अवै ध साबित गरेपछि उनी स्वतःजसपा नेपालमा नै फिरेका थिए । एक वर्ष भन्दा पनि कम कार्यकाल रहेको मेयर सिंह निलम्बनमा परेपछि महानगरपालिका कार्यबाहक मेयरबाट चल्ने भएको छ ।उपमेयरले महानगरको नेतृत्व गर्ने छन् ।

