नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा पनि अबरुद्ध भएको छ ।
मंगलबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक जेठ २८ गते बस्ने गरी स्थगित गरिएको हो ।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्रले सीमामा रहेका दुबै देशतर्फका नागरिकले एक–अर्कोदेशमा खेतीपाती गरेको देखिएपनि नेपालले भारतको सीमा भने नमिचेको बताउनुभयो । सीमा विवाद सम्बन्धी अति संवेदनशील बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपतिजनक भएको उहाले बताउनुभयो । उहाले प्रधानमन्त्री स्वयं सदनमा आएर यस बिषयमा स्पष्ट पार्न माग गर्नुभयो ।
सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । तर बिरोध कायमै रहेपछि उहाले जेठ २८ गते बस्नेगरि बैठक स्थगित गर्नुभयो ।

