प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बिपक्षी दलले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बिपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले संसदबाट देशबासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उहाले बताउनुभयो ।
उहाले सदन खोल्नका लागि सरकारको तर्फबाट कुनै चासो र पहलकदमी नलिएको समेत बैठकको निष्कर्ष रहेको उल्लेख गर्नुभयो । सदन खोल्नका लागि सत्तापक्षबाट बिभिन्न प्रस्तावहरु आएकाले सर्वपक्षीय बैठक आयोजना गरेर आफ्ना कुराहरु राख्ने समेत निर्णय भएको उहाको भनाइ छ ।
महरले करका दर हेरफेरका बिषयमा समेत बिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएकाले यसको छानविनका लागि संसदीय छानबिन समिति बनाउनुपर्नेमा एकमत रहेको बताउनुभयो । बैठकमा श्रम संस्कृति पार्टी बाहेकका बिपक्षी दलका सांसदहरुको उपस्थीति रहेको थियो ।

