२०८३ जेष्ठ २७, बुधबार ०७:५२

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन अनिश्चित भएको छ । जेठ २८ गतेका लागि घोषणा भएको मधेश प्रदेश अधिवेशनलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अनुशासन आयोगका केन्द्रीय प्रमुख भुवन केसीले मंगलबार सूचना प्रकाशित गरेर मधेश प्रदेश अधिवेशन रोकिएको जानकारी गराएका हुन् । मधेश प्रदेशको ८ जिल्ला मध्ये मंगलवार चुनाव प्रकृयाबाट पर्सा जिल्लामा मात्र नेतृत्व चयन हुन सकेको छ ।अन्य ७ जिल्लामा विवाद रहेको छ । जेठ २३ र २४ गते मधेश प्रदेशमा जिल्ला अधिवेशन गने कार्यतालिका सार्वजनिक गरिएको थियो । तर तोकिएको समय सीमामा जिल्ला अधिवेशन हुन नसकेपछि प्रदेश अधिवेशन रोकिएको हो ।

मधेशका आठ जिल्लामध्ये हालसम्म पर्साको मात्रै अधिवेशन भएको छ । अन्य जिल्लामा प्रक्रिया सुरु भएपनि नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन हुन नसकेपछि लोकतान्त्रिक प्रक्रिया मतदानबाट चुनाव गराउने तयारी हुँदा विवाद भएको हो । त्यसकारण ७ वटा जिल्लामा नेतृत्व चयन हुन सकेको छैन । ‘स्थगनको निर्णय मधेस प्रदेश अधिवेशनसंग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरुमा लागु हुनेछ,’ अनुशासन आयोगका प्रमुख केसीले जारीगरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाको प्रदेश अधिवेशन मंगलबारबाट शुरु भएको छ । प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरिएको छ । कोशीको जेठ २७, गण्डकीको २९, लुम्बिनीको ३०, कर्णालीको ३१ जेठ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ । धनुषा जिल्लाको मंगलवार हुने अधिवेशन पनि स्थगित भएको छ । अधिवेशन स्थलमा विवाद चर्किएपछि स्थगन गरिएको थियो । धनुषाका संस्थापक अध्यक्ष लक्ष्मेश्वर यादवलाई बर्खास्त गर्दै जिल्ला अधिवेशनको प्रक्रियाबाट नै आउट गरिएको छ

उनको नेतृत्वमा नै धनुषाको चार मध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।तर उनलाई नै अधिवेशन उद्घाटन हुनु भन्दा १ घण्टा अगावै बर्खास्तगरि अधिवेशन स्थगन गरिएको थियो । जिल्लाभरिका सबै पालिका र वडाका प्रतिनिधिहरु अधिवेशन स्थलमा पुगिसकेको र उद्घाटनको तयारी भइरहेको बेला अचानक निलम्बनको पत्र आएको अध्यक्ष यादवले बताए ।‘केन्द्रले अन्यायपूर्ण ढंगबाट मलाई निलम्बन गरेको छ ’ उनले भने, यस्तो निर्णयलाई हामी मान्दैनौँ । केही दिन पूर्व गणेशमान चारनाथ नगरपालिकाका रास्वपा कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।

मधेश प्रदेशका अध्यक्ष तपेश्वर यादवको गृह जिल्ला सिरहामा पनि कुटाकुट भएपछि अधिवेशन अनिश्चित भएको छ ।सर्वसम्मतीको प्रयास बिफल भएपछि मतदान प्रकृयाबाट जिल्ला नेतृत्व चयन गर्न चुनाव तालिका सार्वजनिक गरिएपछि विवाद भएको थियो ।त्रिपक्षीय देखिएको गुटबन्दीमा सांसदहरु नै लागेका छन् । सप्तरी जिल्लामा पनि विवाद चर्को नाराबाजीको कारण जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला नेतृत्व चयनका लागि अगाडि बढाइएको सबै प्रक्रियाहरु स्थगन भएको बताइएको छ ।

प्रहरीले कडा सुरक्षा दिएपछि चुनाव समितिका पदाधिकारीहरु सुरक्षित रुपमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए । महोत्तरी जिल्लामा पनि विवाद चुलिएको छ । सांसदहरुको हस्तक्षेप, नयाँ र पुरानाबीचको विवादले अधिवेशनहरु बाधित भएको छ ।पुरानाले नयाँलाई अवसरबाट बञ्चित गर्ने र नयाँले नेतृत्वमा दावी गर्ने अधिवेशन स्थगनको मुख्य कारण रहेको छ । सर्लाही र रौतहट जिल्लामा पनि विवादको कारण अधिवेशन स्थगन भएको छ । जिल्ला अधिवेशनको अर्को तिथि तोकिएको छैन ।

मधेश प्रदेशमा बारा जिल्लाबाट नै विवाद चर्किएको छ । बारा जिल्लामा अध्यक्षलाई नै बर्खास्त गरिएपछि त्यहाँ अधिवेशन हुन सकेको छैन । जिल्ला अधिवेशन गराउन केन्द्रले खटाएको प्रतिनिधिहरुको योग्यतामाथि पनि प्रश्न उठेको छ । सहमतिको लागि पर्याप्त अभ्यास नगरिएको र थोरै बाझाबाझ हुँदा अधिवेशन नै स्थगन गरिएको सुचना केन्द्रीय अनुशासन समितिबाट जारी हुने गरेको आरोप लगाइएको छ ।

रास्वपामा अधिवेशन स्थगन गर्ने र कारवाही गर्ने जिम्मेवारी पनि अनशासन समितिलाई नै दिएको छ । सुझबुझका साथ अधिवेशन गराउने केन्द्रीय प्रतिनिधिले काम गरेको भए सबै जिल्ला अधिवेशन समयमै सम्पन्न हुने नेताहरुको कथन छ ।

Comment


Related News