अपडेट 
२०७७ बैशाख २८, आईतवार १६:५६

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरामा भएको नेपाली सीमा अतिक्रमणमा भारत मात्र नभई चीन पनि सहभागी रहेको औंल्याएका छन् ।

प्रचण्डले लिपुलेक सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने भन्दै भारतसँग मात्र नभई चीनसँग पनि छलफल गर्नुपर्नेमा जोड दिए ।

यसअघि द्विपक्षीय सीमा विवाद लिपुलेकमा चीन र भारतबीच भएको सम्झौतासँगै त्रिपक्षीय भएको प्रचण्डको भनाइ थियो । उनले सुगौली सन्धिअनुसार नेपालको सीमाना काली नदी भएको र काली नदी पूर्वका सम्पूर्ण भू–भाग नेपालको भएको स्पष्ट पार्दै यो समस्या समाधानका निम्ति राजनीतिक, कूटनीतिक पहल गर्नुपर्ने बताए ।

‘सुगौली सन्धिअनुसार नेपालको सीमाना काली नदी हो । काली नदी पूर्वका सम्पूर्ण भू–भाग नेपालको हो । पश्चिम भारत हो भन्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानका निम्ति राजनीतिक, कूटनीतिक पहल गर्नुपर्छ भन्दै आइयो’, संसदको राज्य व्यवस्था समिति बैठकमा आइतबार प्रचण्डले भने, ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । दुईटा देशले मात्र हल गरेर अप्ठ्यारो छ । चीन पनि संलग्न भएको, भारत–चीनको सम्झौता भएको हुनाले ।’

आफूले यसअघि तीनवटै देशको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्नका निम्ति त्रिदेशीय साझेदारीको प्रस्ताव राख्दै आएको सबैलाई थाहा भएको भन्दै प्रचण्डले भन्दै आएको कुरा सबैलाई थाहा छ ।

भारतको गोआमा आयोजित बिमस्टेक सम्मेलनमा सहभागी हुन गएका बेला राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि त्रिदेशीय साझेदारीबारे छलफल गरेको स्मरण गरे ।

४० मिनेटसम्म आफूले एक्लै कुरा गर्न पाउँदा सीमाना सम्बन्धी र व्यापार व्यवसायसँग सम्बन्धित विषय पनि त्रिदेशीय समझदारी बनाउन आवश्यक रहेको उठान गरेको स्मरण गरे । ‘यो बाटो प्रकरणसम्म आउँदा त्यसको औचित्य पुष्टि भएको मैले महसुस गरेको छु’, प्रचण्डले भने ।

Comment


Related News

Latest News

Trending News