२०८३ जेष्ठ २८, बिहीबार १०:५४

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साहले न्यूनतम सेवा मापदण्ड (एमएसएस) को प्रभावकारी कार्यान्वयनबाट स्वास्थ्य संस्थामा प्रदान गरिने सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने बताउनुभएको छ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित “न्यूनतम सेवा मापदण्ड (एमएसएस) वार्षिक समीक्षा तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम” लाई सम्बोधन गर्दै मन्त्री साहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले त्यसको गुणस्तरीय, सहज र प्रभावकारी प्रवाह सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्डको पूर्ण कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कनमार्फत सेवाप्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री साहले अस्पताल व्यवस्थापन समितिको सक्रियता, स्वास्थ्यकर्मीको जिम्मेवारीबोध तथा सेवाग्राहीमैत्री वातावरण निर्माणले स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रमोद कुमार यादवले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीको कामि र यससंग सम्बन्धित समस्या व्यवस्थापनको विषयमा विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीहरु दरबन्दी रहेको स्थानमा काम गर्न काज फिर्ताको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा पत्राचार गरिसकेको र नवौ तहको कर्मचारीको हकमा काज फिर्ताको पहल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट गरिनुपर्ने जानकारी गराउनुभयोl त्यस्तै विभिन्न अस्पतालमा भवनकोको अभावले सेवा दिन कठिनाई भएको समस्यालाइ सम्बोधन गर्ने क्रममा टुक्रे भवन निर्माणको सट्टा अस्पतालको भवन निर्माणको लागी एकमुष्ठ बजेट व्यबस्थापन गर्न सके उक्त समस्या पनि बिस्तारै समाधान हुन् सक्ने बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले न्यूनतम सेवा मापदण्ड स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार भएको बताउँदै यसले स्वास्थ्य सेवाको गुणस्तर मापन तथा सुधारका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने बताउनुभयो। उहाँले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी कार्ययोजनामा समावेश गरी स्वास्थ्य संस्थाको सेवा प्रभावकारिता बढाइने जानकारी दिनुभयो।

त्यसैगरी महाशाखा प्रमुख डा. इन्द्रजित रजकले स्वास्थ्य संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय सेवा प्रवाहको संस्कार विकास गर्न एमएसएस प्रभावकारी माध्यम भएको धारणा राख्नुभयो। उहाँले सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

स्वास्थ्य निर्देशनालयका शाखा प्रमुख सुनिता गुप्ताले वार्षिक समीक्षाको उद्देश्य, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्था, प्राप्त अंक, सेवा सुधारका प्रयास तथा आवश्यक सुधारका क्षेत्रबारे समीक्षा गरिएको थियो। स्वास्थ्य निर्देशनालयवाट गत बर्ष सबै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन भएका अस्पतालहरुको अनुगमन पुरा गर्ने, अचानक छड्के अनुगमन गर्ने, प्रदेशकै आफ्नै श्रोत व्यक्ति तयार गर्न सफल साथै आयुर्वेद चिक्त्सालयहरुको समेत अभिमुखीकरण गरि न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको सुरुवात गरि राष्ट्रिय स्तरमै अन्य प्रदेशको तुलनामा राम्रो कार्य गर्न सकेको समेत जानकारी गराउनुभयो।

समीक्षाका क्रममा स्वास्थ्य संस्थाहरूमा देखिएका विभिन्न समस्या तथा चुनौतीहरू पनि औँल्याइएको थियो। प्रदेशको प्रमुख समस्याको रुपमा स्वास्थ्य जनशक्तिको कमि र अस्पतालमा भवनको अभावले मापदण्ड बमोजिमका सेवा संचालनमा कठिनाई, औषधिको तथा अन्य औजार उपकरणको अभाव अहिलेको प्रमुख चुनौती रहेको छ जसको यथाशिघ्र समाधान गुणस्तरीय सेवा संचालनको लागि अतिआवश्यक रहेको बताउनुभयो।

कहिँ डाक्टर धेरै थुप्रिएको त कहिँ सेवा दिन कन्सल्टेन्ट डाक्टर उपलब्ध नहुनुले सेवा प्रवाहमा कठिनाइ भएको छ भने सबै अस्पतालहरुमा नर्सिंग जनशक्ति अभाव रहेको छ। यस समस्या समाधानको लागी यथाशिघ्र संगठन तथा व्यबस्थापन (O & M ) हुनुपर्ने र दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा सबैको गम्भीर ध्यानाकर्षण भएको थियो।

प्रदेशस्तरीय समीक्षामा केही कार्यालय प्रमुख वा प्रतिनिधिको अनुपस्थिति रहेको जनाइएको छ। विशेषगरी आयुर्वेद चिकित्सालय रौतहट, आयुर्वेद चिकित्सालय सप्तरी तथा भारदह अस्पतालबाट जिम्मेवार प्रतिनिधिको सहभागिता नभएको देखियो। त्यस्तै आयुर्वेद चिकित्सालय सर्लाही तथा स्वास्थ्य कार्यालय रौतहट र धनुषाका प्रतिनिधिहरू आवश्यक प्रस्तुतीकरण सामग्री तयारी नगरी कार्यक्रममा सहभागी भएको विषयलाई पनि कमजोरीका रूपमा औँल्याइएको थियो। समीक्षा प्रक्रियामा समय व्यवस्थापनसम्बन्धी चुनौतीसमेत देखिएको बिषयमा उपस्थित प्रमुख तथा प्रतिनिधिज्युको ध्यानकेन्द्रीत भयो र अनुशासन पालना सबैले गर्नुपर्नेमा सबै सहमत भएका थिए।

कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहले समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरूलाई आफ्ना कमजोरी पहिचान गरी सुधारका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने बताउनुभयो। उहाँले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि नियमित मूल्याङ्कन, क्षमता विकास तथा व्यवस्थापन पक्षलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको सो कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको वर्तमान अवस्था, उपलब्धि, चुनौती र सुधारका उपायबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य संस्थाहरूबीच समन्वय, जवाफदेहिता र सेवाको गुणस्तर वृद्धि गर्न एमएसएसलाई अझ प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिएका थिए।

Comment


Related News

Latest News

Trending News