राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेट कार्यान्वयन नहुने दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफला सांसद सिंहले बजेटलाई ठूलो फुकिएको बेलुनको संज्ञा दिनुभयो । उहाँले फुकिएको बेलुन लामो समयसम्म नटिक्ने उल्लेख गर्दै आउँदाे बजेट पनि कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।
सिंहले दक्षिण एशियामा कुनै पनि देशले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३२ देखि ३३ प्रतिशतको बजेट बनाउने नगरेको बताउनुभयो । उहाँले बजेटमा केही सकारात्मक व्यवस्था भए पनि समग्र रूपमा आमनागरिकलाई राहत दिन नसकेको दाबी गर्नुभयो ।
सांसद सिंहले संविधान विपरीत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएको बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले यस्ता क्षेत्रमा कर लगाउनु संविधानको मर्म विपरीत भएको तर्क गर्नुभयो । निजी विद्यालय र अस्पतालमाथि लगाइएको करको भार अन्ततः विद्यार्थी र सेवाग्राहीमाथि पर्ने उहाँको भनाइ छ ।
सिंहले देशमा व्यापारिक वातावरणसमेत कमजोर बन्दै गएको उल्लेख गर्नुभयाे । निजी क्षेत्र डर र त्रासका कारण ऋण लिन नसक्ने अवस्थामा पुगेका उहाँको भनाइ छ ।
सांसद सिंहले बजेटमा किसानलाई उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था नदेखिएको भन्दै असन्तुष्टि पोख्नुभयो । किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्न बाध्य हुँदा उपभोक्ताले भने धेरै महँगो मूल्य तिर्नुपरेको उहाँको भनाइ छ । उहाँले युवालाई रोजगारी सिर्जना गर्ने स्पष्ट कार्यक्रम पनि बजेटमा नदेखिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो बजेटबाट नेपालको कति प्रतिशत नागरिक खुशी भए ? शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधानको विपरीत हो । युवालाई हामीले रोजगारी दिन सकेनौँ भने भने समस्या आउँछ । बजेटमा युवालाई रोजगारी दिने ठाउँ कहाँ छ ?’
नेपालको व्यापार घाटा र वैदेशिक रोजगारी तथा रेमिट्यान्समाथिको निर्भरता बढ्दै गएको उल्लेख गर्दै सांसद सिंहले कृषि उत्पादन, ग्रामीण अर्थतन्त्र तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि बजेट पर्याप्त नभएको बताउनुभयो । उहाँले बजेट घाटामा बनाइने गरिएको भन्दै पुरानो ऋण तिर्न नयाँ ऋण लिने प्रवृत्ति बढेको टिप्पणी पनि गर्नुभयो ।

