२०८३ जेष्ठ २९, शुक्रबार १९:१९

भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान शुरू गरेको छ ।

अभियानको शुरुआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुनेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए । यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ ।

गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सीजेपीले यस पटक सावित्रीबाई फुले पुने विश्वविद्यालय परिसरमा र्‍याली आयोजना गरेको हो । प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।

सीजेपीका संस्थापक तथा अमेरिकाको बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत दीपकेले ¥यालीलाई सम्बोधन गर्दै पुनेको कार्यक्रम केवल शुरुआत मात्र भएको बताउनुभयो । उहाँले आउँदा दिनमा भारतका अन्य शहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो । उहाँले शिक्षामन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँ दिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनीसमेत दिनुभयो ।

‘सरकारले युवाहरूलाई बेवास्ता गर्न सक्दैन’, अमेरिकाबाट भर्खरै भारत फर्किएर आन्दोलनको नेतृत्व गरिरहनुभएका दीपकेले पत्रकारहरूसँग भन्नुभयो ।

यो आन्दोलनको शुरुआत गएको मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको थियो । यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको थियो । तर आन्दोलनका समर्थकहरूले त्यस शब्दलाई अपमानका रूपमा नभई कठिन परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता र लचकताको प्रतीकका रूपमा ग्रहण गरे । त्यसपछि ‘कक्रोच’ आन्दोलनको पहिचान बनेको छ ।

शुरूमा एउटा टिप्पणीविरुद्धको प्रतिवादका रूपमा देखिएको आन्दोलन अहिले बेरोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार तथा सरकारी जवाफदेहितासम्बन्धी व्यापक असन्तुष्टिको आवाजका रूपमा विकसित भएको छ । सीजेपीले व्यङ्ग्य, आत्म–आलोचनात्मक हास्य र राजनीतिक टिप्पणीलाई संयोजन गरेर युवामाझ आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

समर्थकहरू मजाककै शैलीमा आफूलाई बेरोजगार, लामो समय अनलाइनमा बस्ने र अवसरको खोजीमा रहेका युवा भनेर चिनाउँछन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो, मीम र व्यङ्ग्यात्मक सामग्रीहरूले बेरोजगारी, भ्रष्टाचार तथा राजनीतिक निष्क्रियताको आलोचना गर्दै लाखौँ दर्शकको ध्यान तानेका छन् । यस्तै सीजेपीसँग सम्बन्धित वा त्यसबाट प्रेरित धेरै प्यारोडी खाताहरूले पनि कक्रोचलाई व्यङ्ग्यात्मक राजनीतिक प्रतीकका रूपमा प्रयोग गरिरहेका छन् ।

पुनेबाट शुरू भएको पछिल्लो अभियानले भारतका युवाहरूबीच बढ्दो असन्तुष्टिलाई सङ्गठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ । आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News