२०८३ जेष्ठ ३०, शनिबार ०८:०२

जेठ मसान्तसंगै जनकपुरधामका बजारहरूमा आँपको चहलपहल बढ्न थालेको छ । विगतका वर्षहरूमा यसपटक भारतबाट ठूलो परिमाणमा आयात हुने आँपले बजार ढाक्ने गथ्र्यो भने मधेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायत जिल्लामा उत्पादन हुने स्वदेशी आँपले विस्तारै बजार पाउने अवस्था बन्थ्यो । तर यस वर्ष सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ‘नेपाल सरकारले भारतीय आँपमा पूर्ण प्रतिबन्ध लगाएको’ भन्ने समाचार व्यापक रूपमा फैलिएको छ ।

फेसबुक, टिकटक तथा विभिन्न अनलाइन प्लेटफर्ममा भारतीय आँपमा अत्यधिक विषादी भेटिएकाले सरकारले नाकामै रोकेको दाबी गरिएपछि उपभोक्तामाझ अन्योल बढेको छ । केही भारतीय सञ्चारमाध्यमले समेत नेपालले भारतीय आँप आयातमा पूर्ण प्रतिबन्ध लगाएको भन्दै समाचार प्रकाशन गरेका छन् ।

तर कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले यस्ता दाबी गलत भएको स्पष्ट पारेको छ । केन्द्रले भारतबाट आउने आँपमा पूर्ण प्रतिबन्ध नलगाइएको, बरु स्वदेशी कृषि उत्पादनलाई गम्भीर रोग र किराको जोखिमबाट जोगाउन आयात प्रक्रियामा कडा सर्त लागू गरिएको जनाएको छ ।

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार सरकारले आँप आयात बन्द नगरेको, जैविक सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था मात्र गरेको हो । उनले जनाए अनुसार भारतबाट आयात हुने आँपमा केही हानिकारक शत्रुजीव तथा रोगको जोखिम देखिएकाले अतिरिक्त सतर्कता अपनाइएको हो।

यस्ता रोग तथा किराहरू नेपाल भित्रिए मधेशसहित देशभरका आँप बगैंचामा गम्भीर क्षति पुग्न सक्ने कृषि विज्ञहरूको चिन्ता छ । यसै कारण भारतबाट नेपाल भित्र्याइने आँपलाई …हट वाटर ट्रिटमेन्टÚ अर्थात् ४८ डिग्री सेल्सियस तापक्रमको पानीमा एक घण्टा उपचार गरिएको हुनुपर्ने र त्यसको प्रमाणसहितको स्वस्थता प्रमाणपत्र पेश गर्नुपर्ने सर्त लागू गरिएको छ ।

उक्त प्रमाणपत्रमा हानिकारक शत्रुजीव नरहेको स्पष्ट उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ । क्वारेन्टिन कार्यालयका अनुसार यो निर्णय विषादी परीक्षणसँग सम्बन्धित नभइ पूर्ण रूपमा जैविक सुरक्षा उपाय हो । खाद्य गुणस्तर तथा स्वच्छताको परीक्षण सम्बन्धित निकायले गर्ने भए पनि रोग तथा किरा नियन्त्रणको जिम्मेवारी क्वारेन्टिन निकायको हो ।

नयाँ सर्त लागू भएपछि भारतबाट आँप आयातमा उल्लेखनीय कमी आएको छ । विगतमा सिजनको समयमा हजारौं टन आँप नेपाल भित्रिने गरेकोमा अहिले आयात घटेको बताइएको छ। भारतमा ‘हट वाटर ट्रिटमेन्ट’ गरी त्यसलाई आधिकारिक रूपमा प्रमाणित गर्ने प्रणाली पर्याप्त व्यवस्थित नभएकाले व्यापारीहरूलाई सर्त पूरा गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

यद्यपि सर्त पूरा गरेर आउने आँपको आयात भने रोकिएको छैन । बजारमा अहिले पनि भारतीय आँप देखिनुको कारण पुराना आयात अनुमति पत्रहरू सक्रिय रहनु हो । आयात अनुमति पत्रको म्याद तीन महिनासम्म रहने भएकाले नयाँ व्यवस्था लागू हुनुअघि अनुमति लिएका व्यापारीहरूले पुरानै सर्तअनुसार आँप ल्याइरहेका छन् ।

क्वारेन्टिन तथा भन्सार प्रक्रिया फरक– फरक विषय भएको भन्दै सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा नगरी भित्र्याइने आँप अवैध मानिने चेतावनी दिएको छ । क्वारेन्टिनको स्वीकृति विना केवल राजस्व तिरेर वस्तु भित्र्याउन नमिल्ने र त्यस्तो अवस्थामा सम्बन्धित कर्मचारीसमेत कानुनी कारबाहीको दायरामा आउन सक्ने व्यवस्था रहेको जनाइएको छ ।

मधेश प्रदेश आँप उत्पादनको प्रमुख क्षेत्र मानिन्छ । यहाँका किसानले वर्षौंदेखि भारतीय आँपको अत्यधिक आयातका कारण उचित मूल्य नपाउने गुनासो गर्दै आएका छन् । यस वर्ष लागू गरिएको जैविक सुरक्षा सम्बन्धी कडाइले स्वदेशी आँप उत्पादनलाई रोग–किराबाट जोगाउनुका साथै स्थानीय किसानलाई बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तर फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले केन्द्र सरकारले आँपसहित विभिन्न फलफूलमा प्रतिबन्ध लगाएपछि यसपटक व्यापार घाटा हुने बताए । उनले आँप, केरा, स्याउलगायतका फलफूलमा सरकारले प्रतिबन्ध लगाउँदै स्थानीय र स्वेदशी फलफूल बिक्रीवितरण भने पनि स्वेदशी फलफूल उत्पादन न्यूनका कारण पनि महँगी बढेको प्रस्ट्याए । त्यसैले नेपाल सरकारले भारतीय आँपमा पूर्ण प्रतिबन्ध लगाएको भन्ने प्रचार वास्तविकता नभइ भ्रम भएको सरकारी निकायको स्पष्ट भनाइ छ ।

हालको व्यवस्था आयात रोक्नेभन्दा पनि स्वदेशी कृषि उत्पादनको संरक्षण र जैविक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको नियामक कदम हो । एनडीटीभीदेखि टाइम्स अफ इन्डियासम्मका सञ्चारमाध्यमले ‘नेपालले भारतीय आँपमा प्रतिबन्ध लगायो’ भन्ने शीर्षकका समाचार, भिडियो र अडियो रिपोर्टहरू सार्वजनिक गरेका छन् ।

गुणस्तर र किराको समस्याका कारण भारतीय आँपले अन्तर्राष्ट्रिय बजारमा पटक– पटक प्रतिबन्ध झेल्दै आएका उदाहरणहरू प्रष्ट छन् । सन् २०१४ मा युरोपेली संघले भारतीय आँपमा ‘फ्रुट फ्लाई’ नामक किरा भेटिएको भन्दै आयातमा रोक लगाएको थियो ।

Comment


Related News

Latest News

Trending News