२०८३ जेष्ठ ३१, आईतवार १९:१५

विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका भारतीय नागरिक भारतको पटनास्थित खान ग्लोबल स्टडिजमा भएको तोडफोडको घटनाका अभियुक्त रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको एक होटलमा शनिबार राति बिरामी परेका २४ वर्षीय प्रिन्स यादवको उपचारका लागि न्यूरो अस्पालमा पुर्‍याउँदै गर्दा मृत्यु भएको हो।

यादवको मृत्युबारे अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक यादव बिहारस्थित शैक्षिक व्यवसायी रोशन आनन्दका भाइ भएको खुलेको छ। केही समयअघि आनन्दको शैक्षिक संस्थामा भएको हवाइफायरको घटनामा संलग्न देखिएका यादव नेपाल आएर लुकेको देखिएको छ।

गत जेठ १९ गते पटनास्थित आनन्दले सञ्चालन गरेको ज्ञानबिन्दु जिएस एकेडेमी र खान ग्लोबल स्टडिजबीच उत्पन्न विवादका क्रममा खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलेको थियो।

खान सरको नामले चर्चित बिहारका फैसल खानको संस्थामा उक्त घटना भएको थियो। घटनापछि फैसल खानले यादवविरुद्ध एफआइआरसमेत दर्ता गराएका थिए।

ती अभियुक्त जेठ २० गते विराटनगर बसपार्कस्थित मेट्रोसिटी होटलमा बसेका थिए। त्यसपछि उनी जेठ २२ गते मेट्रोसिटीबाट शुभ होटलमा सरेको प्रहरी अनुसन्धानमा खुलेको छ, जहाँ उनको मृत्यु भएको हो।

नेपाल आएर लुकेर बसेको हुनसक्ने प्रहरी अनुमान छ। प्रहरी अनुसन्धानका क्रममा मृतक यादवको टाउकोमा चोटजस्तो देखिएको छ। यद्यपि, मृत्युको स्पष्ट कारण खुलिसकेको छैन।

प्रहरी उपरीक्षक कटवालका अनुसार मृतक यादवसँग होटलमा बस्दै आएका अन्य ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। उनका अनुसार होटलमा बसोबास गरिरहेका बिहार सुपौलका जयराम यादव, लल्टु यादव, रोशन यादव र सहरसाका अंकित यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको हो।

होटलमा अचेत भएका उनलाई नातामा भाइ पर्ने सप्तरीको हनुमाननगर–१४ का तीर्थकुमार यादवसहित चारजनाले अस्पताल पुर्‍याएका थिए। हाल प्रहरीले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको र शव जिम्मा लगाउने तयारी भइरहेको बताएको छ।

Comment


Related News

Latest News

Trending News