जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसहित कुनै पनि देशको भूमि नमिचेको दाबी गरेका छन् ।
वीरगञ्जमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले नेपालले छिमेकी राष्ट्रको भूमि अतिक्रमण गरेको भन्ने दाबी तथ्यहीन रहेको बताए । उनले आफू दुई पटक नेपालको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेको स्मरण गराउँदै हालसम्म नेपालले भारतको भूमि मिचेको भन्ने कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताए ।
यस्तो संवेदनशील विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा तथ्य र प्रमाणका आधारमा बोल्न उनले आग्रह गरे । अध्यक्ष यादवले भारतले समेत हालसम्म नेपालले आफ्नो भूमि अतिक्रमण गरेको दाबी नगरेको अवस्थामा नेपालकै तर्फबाट यस्तो विषय उठाइनु आश्चर्यजनक भएको टिप्पणी गरे । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उनले बताए ।
अध्यक्ष यादवले भने, ‘नेपालले भारतको भूमि मिचेको भनिएको छ भने त्यसको आधार, तथ्य र प्रमाण सार्वजनिक हुनुपर्छ, यस्तो गम्भीर विषयमा कसैले दाबी गर्छ भने त्यसलाई पुष्टि गर्ने जिम्मेवारी पनि उसैको हुन्छ ।’ उनले राष्ट्रिय हित, सीमा सम्बन्ध र परराष्ट्र नीतिसँग जोडिएका विषयमा अनावश्यक विवाद सिर्जना गर्नेभन्दा पनि तथ्यपरक बहस आवश्यक रहेको बताए ।

