२०८३ असार ३, बुधबार ०८:१८

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामद्वारा स्थानीय तहहरुमा सञ्चालित पालिकास्तरीय १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले सात महिनादेखि तलब तथा अन्य सेवासुविधा नपाएको भन्दै जनकपुरधाममा धर्ना प्रदर्शन गरेका छन् ।

प्रयोगशालाकर्मीहरूले मंगलबार जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना दिँदै आफ्ना माग तत्काल सम्बोधन गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनादेखि हालसम्म तलब नपाएको, चाडपर्व भत्ता उपलब्ध नगरिएको तथा सेवा सम्झौता (म्याद) नवीकरणसमेत अन्योलमा परेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

प्रयोगशालाकर्मी अनिल महतोका अनुसार सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारीहरू आर्थिक रूपमा गम्भीर समस्यामा परेका छन् । उनले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सेवा सम्झौता नवीकरण प्रक्रिया टुंगोमा नपुग्नु चिन्ताजनक भएको बताए ।

प्रयोगशालाकर्मीहरूको संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले आफ्नो समस्याबारे सम्बन्धित निकायलाई पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन् । लामो समयसम्म पारिश्रमिकविहीन अवस्थामा कर्मचारीहरूलाई सेवा दिन बाध्य बनाइनु श्रमिक अधिकारमाथिको गम्भीर अन्याय भएको उनको आरोप छ । प्रदर्शनमा सहभागी प्रयोगशालाकर्मीहरूले तलब अभावका कारण दैनिक जीवनयापनसमेत कठिन बन्दै गएको बताएका छन् ।

संघर्ष समितिले बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण, चाडपर्व भत्ता, पोशाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ता उपलब्ध गराउन माग गरेको छ । यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराइएको समितिले जनाएको छ ।

माग सम्बोधन नभए प्रदेशव्यापी थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि प्रयोगशालाकर्मीहरूले दिएका छन् । उनीहरूको आन्दोलनले प्रदेशका स्थानीय तहमा सञ्चालित प्रयोगशाला सेवामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले ७ महिनादेखि होइन अधिकांशको माघ महिनायतादेखि ५ महिनाको तलब बांकी हो ।

सेवा शुल्क वापत उठेको रकम नबुझाएका पालिकाका कर्मचारीहरुको केहीको साउनदेखि नै त केहीको कात्तिकदेखि बांकी रहेको छ । उनीहरुले रकम बुझाइसकेपछि सबैको बक्यौता तलब बुझाइनेछ । प्रयोगशालाले जनाए अनुसार प्रत्येक पालिकास्तरीय प्रयोगशालामा दुईजना करारका कर्मचारी खटाइएको हो । केमिकल आभावमा अधिंकाश प्रयोगशाला महिनौदेखि बन्द नै रहेका छन् । केही पालिकाले आफ्नै खर्चमा केमिकल मँगाई संचालन गर्दै आएका छन् ।

Comment


Related News