२०८३ असार ४, बिहीबार ०७:४६

धान रोपाइँको मौसम सुरु भइसकेपछि किसानले रासायनिक मल सहज रूपमा नपाएको गुनासो बढिरहेका बेला मधेश प्रदेश सरकारले मल वितरणलाई व्यवस्थित बनाउन आवश्यक परिमाणको बाँडफाँड गरेको छ। वर्षे धान खेतीलाई केन्द्रमा राख्दै प्रदेश सरकारले युरिया र डिएपी मल प्रदेशका सबै स्थानीय तहसम्म पु¥याउने तयारी गरेको जनाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको प्रदेश मल समितिले जेठ २७ गतेको निर्णयअनुसार प्रदेशभरका १३६ वटै स्थानीय तहका लागि कुल ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डिएपी मल वितरणका लागि छुट् याएको हो । मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड मार्फत युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत डिएपी मल वितरण गरिनेछ ।

प्रदेशका किसानसम्म मल उपलब्ध गराउन जिल्लागत आवश्यकतालाई आधार बनाएर परिमाण निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मनिष कुमार पालका अनुसार सप्तरीका १८ स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डिएपी छुट्याइएको छ ।

त्यस्तै, सिरहाका स्थानीय तहहरूले १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डिएपी प्राप्त गर्नेछन् । धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिने धनुषाका स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया तथा ७७८ मेट्रिक टन डिएपी विनियोजन गरिएको छ भने महोत्तरीका स्थानीय तहहरूका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डिएपी बाँडफाँड गरिएको छ । यस्तै, सर्लाहीका स्थानीय तहलाई १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डिएपी उपलब्ध गराइनेछ।

रौतहटका लागि ८७५ मेट्रिक टन युरिया तथा ७३६ मेट्रिक टन डिएपी छुट् याइएको छ भने बाराका स्थानीय तहहरूले ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डिएपी पाउनेछन् । पर्सा जिल्लाका स्थानीय तहका लागि भने ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । धान रोपाइँको व्यस्त समयमा मल अभावको चर्चा भइरहेका बीच प्रदेश सरकारले जिल्लागत आवश्यकताअनुसार मलको परिमाण निर्धारण गरी वितरण प्रक्रिया अघि बढाएको हो ।

अब किसानको मुख्य चासो भनेको तोकिएको मल समयमै स्थानीय तहसम्म पुगेर सहज रूपमा उपलब्ध हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित रहेको देखिन्छ । तर आवश्यकता अनुसार ती मल पर्याप्त नभएको गुनासो पनि आइरहेको छ ।

Comment


Related News