आर्थिक वर्ष २०८३/०८४ का लागि मटिहानी नगरपालिकाले ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औँ नगरसभाको खुला अधिवेशनमा नगर प्रमुख हरिप्रसाद मण्डलले नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरेको हो । प्रस्तुत बजेट अनुसार राजस्व बाँडफाँटबाट १० करोड ५७ लाख रुपैयाँ, सङ्घीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट एक करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट छ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेट प्रस्तुत गर्दै नगर प्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताए । उनले मटिहानीको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई संरक्षण र प्रवद्र्धन गर्दै नगरको समग्र विकासलाई अघि बढाइने जानकारी दिए । उनले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, व्यावसायिक खेती विस्तार तथा युवालाई कृषि उद्यममा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने बताउंदै उद्योग तथा वाणिज्य क्षेत्रको प्रवद्र्धनका लागि सीपमूलक तालिम तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ भने ।
पर्यटन क्षेत्रको विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरि नुका साथै नगरभित्र रहेका पोखरी, जलाशय तथा धार्मिक स्थलहरूको संरक्षण र सौन्दर्यीकरण गरिनेछ। नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन मठ, मन्दिर तथा मस्जिदलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिएको छ ।
शिक्षा क्षेत्रतर्फ मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्म मैथिली विषयलाई एक सय पूर्णाङ्कका साथ पाठ् यक्रममा समावेश गरिने भएको छ । साथै माध्यमिक तहका विद्यालयहरूबीच विज्ञान प्रदर्शनी मेला आयोजना गरिनेछ ।
विद्यार्थीको सूचना प्रविधिमा पहुँच विस्तार गर्न जोडकोषमार्फत ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण तथा दलित, विपन्न, गरिब, अपाङ्गता भएका, असहाय र सहिद परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
यस्तै स्वास्थ्य क्षेत्रतर्फ बर्थिङ सेन्टरबाट रेफर भएका गर्भवती महिलाका लागि जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। साथै गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा तथा आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

