मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ जनकपुरधाममा सुरु भएको छ ।
नेपाल कुस्ती संघ, मधेश प्रदेशको सहकार्यमा आयोजित प्रतियोगिताको उद्घाटन बुधबार मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा ले गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तत्माले खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खेलाडीलाई आवश्यक अवसर, सुविधा र प्रोत्साहन उपलब्ध गराइने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटनसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाएका सिरहाको धनगढीमाई नगरपालिका–५ निवासी कुस्ती खेलाडी जनक यादव लाई विशेष सम्मान गरिएको छ। बंगलादेश, जापान र पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर नेपाल, मधेश प्रदेश तथा सिरहा जिल्लाको नाम उच्च राखेको योगदानको कदरस्वरूप उनलाई सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो।
उद्घाटन समारोहमा मधेश खेलकुद परिषद्का बोर्ड सदस्य लव अधिकारी, दीपेन्द्र गोइत, परिषद्का सदस्य निशेष श्रेष्ठ, प्रशासन प्रमुख मोहम्मद ज्याउल इस्लाम, खेलकुदकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुको अध्यक्षतामा सम्पन्न प्रतियोगिता असार ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगिताले राष्ट्रिय स्तरमा कुस्ती खेलको लोकप्रियता बढाउनुका साथै नयाँ प्रतिभा उत्पादन र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ।

