२०८३ असार ६, शनिबार ०७:२८

सिरहा र धनुषा जिल्ला आवात जावत गर्न हुलाकी राजमार्ग अन्तर्गत कमला पुल नजिक निर्माण गरिएको अस्थायी डाइभर्सन भासिँदा आवागमन प्रभावित भएको छ ।

डाइभर्सनमा क्षति पुगेपछि स्थानीयवासी जोखिमपूर्ण रूपमा डुँगा प्रयोग गरेर नदी वारपार गर्न बाध्य भएका छन् । सिरहाको बसबिट्टा क्षेत्रतर्फ करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको तारजाली र माटोयुक्त अस्थायी डाइभर्सन केही महिनाअघि मात्रै सञ्चालनमा आएको थियो । तर, बिहीबार राति परेको वर्षापछि संरचनाको ठूलो भाग भासिएसँगै चारपाङ्ग्रे सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ । माटो कटान निरन्तर भइरहेकाले बाँकी संरचना पनि जोखिममा रहेको उनले बताए ।

केही मोटरसाइकल चालकले जोखिम मोलेर आवतजावत गरिरहेका भए पनि अधिकांश यात्रु डुंगाको भर पर्न बाध्य भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कमला नदीमा पानीको बहाव बढेपछि डाइभर्सनमा क्षति पुगेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार विगत दुई सातादेखि आवागमन प्रभावित रहेको छ भने नागरिकहरू वैकल्पिक रूपमा डुङ्गा प्रयोग गरिरहेका छन् ।

जोखिमपूर्ण यात्रा नगरी सुरक्षित र वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन् । हाल सिरहा नगरपालिका–५ स्थित बसबिट्टा घाटबाट डुंगामार्फत यात्रु ओसार पसार भइरहेको छ । सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार नदी पार गर्न प्रत्येक यात्रुले १५० रुपैयाँ शुल्क तिर्नुपर्ने अवस्था रहेको छ । यता, कमला नदीमाथि निर्माणाधीन पुलको काम भने लामो समयदेखि अलपत्र छ ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि २०६८ सालमा पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । २०७१ मै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले समयमै पूरा हुन नसकेको हो । २०७८ सालको बाढीले पुलका केही संरचनामा क्षति पुर्याएपछि निर्माण कार्य थप प्रभावित भएको थियो ।

हालसम्म आयोजनाको म्याद सात पटक थप भइसकेको छ भने पुनः म्याद थप्ने प्रक्रिया जारी रहेको जनाइएको छ । निर्माण कम्पनीले हालसम्म २० करोड रुपैयाँभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको भए पनि पुल अझै सञ्चालनमा आउन सकेको छैन । स्थानीयवासीहरुले वर्षेनी दोहोरिने सास्ती अन्त्य गर्न निर्माणाधीन पुलको काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूका अनुसार पुल निर्माणमा भएको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा आवतजावत, व्यापार र दैनिक जनजीवन प्रभावित हुँदै आएको छ ।

Comment


Related News