रास्वपा सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।
महाधिवेशनअघि शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाईतर्फ लान सक्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गर्नुभएको हो । उहाले निर्वाचनबाट जस्तो परिणाम आएपनि रास्वपाका सवै नेता तथा कार्यकर्ताहरु एउटा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो ।
सभापति लामिछानेले अहिलेसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोप्रति धन्यवाद दिदै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने धारणा राख्नुभयो । आफ्नो जिन्दगीको अनेक भोगाई र उतारचढावका बीच पछिल्लो चार बर्षमा भएका कामहरुको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको भन्दै सभापति लामिछानेले पारदर्शी रुपमा आफुहरु आम नागरिकको सार्वजनिक परीक्षणमा रहेको बताउनुभयो ।
उहाले अहिले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्वपूर्ण रहेको समेत बताउनुभयो । रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पुरा गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्ने उल्लेख गर्नुभयो ।

