२०८३ असार ७, आईतवार ०८:२०

लागुऔषधको बढ्दो दुरुपयोग, अवैध कारोबार तथा ओसारपोसारले समाजमा गम्भीर चुनौती सिर्जना गरिरहेका बेला धनुषा जिल्लामा यसको नियन्त्रण र रोकथामका लागि सप्ताहव्यापी जनचेतनामूलक अभियान सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सुरु भएको यो अभियान असार ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । ‘लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानको पहिलो दिन विभिन्न सरोकारवाला निकाय, सुरक्षा निकाय, सामाजिक संस्था तथा सरकारी कार्यालयका प्रतिनिधिहरूबीच लागुऔषध दुरुपयोग र अवैध ओसारपोसार नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले लागुऔषधको समस्या कुनै एक व्यक्ति वा परिवारको मात्र नभई सम्पूर्ण समाजकै साझा चुनौतीको रूपमा विस्तार भइरहेको बताए । उनले पछिल्लो समय विशेषगरी युवा पुस्ता लागुऔषधको दुव्र्यसनतर्फ आकर्षित हुँदै गएको भन्दै यसले सामाजिक, आर्थिक तथा पारिवारिक संरचनामै नकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि प्रशासनिक तथा कानुनी प्रयास मात्र पर्याप्त नहुने भएकाले परिवार, विद्यालय, स्थानीय समुदाय, सुरक्षा निकाय तथा विभिन्न सामाजिक संघसंस्थाबीच प्रभावकारी सहकार्य आवश्यक छ। समाजका सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढे मात्र यस समस्याको दीर्घकालीन समाधान सम्भव हुने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले बेरोजगारी, पारिवारिक विखण्डन, घरेलु कलह तथा सामाजिक असन्तुलनजस्ता कारणले पनि धेरै युवाहरू गलत संगत र लागुऔषधको जालोमा फस्ने गरेको उल्लेख गरे। उनले स्वस्थ सामाजिक वातावरण निर्माण, युवालाई सकारात्मक गतिविधिमा संलग्न गराउने तथा पारिवारिक सम्बन्धलाई बलियो बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा मधेश प्रदेश सरकारसँगको समन्वयमा अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले यसको प्रभावलाई अझ व्यापक बनाउन स्थानीय तह हुँदै वडा स्तरसम्म विस्तार गर्ने योजना रहेको बताए।

अभियानले गाउँदेखि सहरसम्मका नागरिकलाई लागुऔषधको जोखिम र त्यसका असरबारे सचेत गराउने लक्ष्य लिएको उनले स्पष्ट पारे । अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्का, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायत विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले लागुऔषध दुरुपयोग र अवैध कारोबार नियन्त्रणका लागि सरकारी संयन्त्र मात्र नभई समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए । अभियान अवधिभर जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक अन्तरक्रिया, प्रचारप्रसार कार्यक्रम, विद्यालय केन्द्रित सचेतना अभियान, विद्यार्थी तथा अभिभावकसँग छलफल, पर्चा वितरण तथा अन्य सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

अभियानमार्फत लागुऔषध दुरुपयोग, अवैध कारोबार तथा त्यसबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे विभिन्न माध्यमबाट नागरिकलाई जानकारी गराइनेछ। साथै, युवालाई लागुऔषधबाट टाढा राख्न सामाजिक उत्तरदायित्व, पारिवारिक निगरानी र सामुदायिक सचेतनाको महत्वबारे पनि विशेष सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ । धनुषासहित मधेश प्रदेशका सीमावर्ती जिल्लाहरूमा पछिल्लो समय लागुऔषधको समस्या बढ्दै गएको विषयमा चिन्ता व्यक्त भइरहेका बेला सुरु गरिएको यो अभियानलाई सरोकारवालाहरूले सकारात्मक र समयानुकूल कदमका रूपमा लिएका छन् ।

उनीहरूका अनुसार समाजका सबै तह र तप्काको सहभागितासहित सञ्चालन हुने यस्ता अभियानले लागुऔषधविरुद्ध जनस्तरमा चेतना अभिवृद्धि गर्न तथा भविष्यमा यसको नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्छ ।

Comment


Related News

Latest News

Trending News