२०८३ असार ७, आईतवार १८:३७

बागमती नदीमा अचानक पानीको बहाव बढ्दा बीच नदीको टापुमा फसेका १४ जनालाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

आइतबार दिउँसो दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरीघाट क्षेत्रमा मुंगको दाल टिपेर घर फर्कने क्रममा ११ महिला र ३ बालिका नदीको बीच भागमा रहेको टापुमा अलपत्र परेका थिए। नदीमा एक्कासि बाढीको बहाव बढेपछि उनीहरू सुरक्षित रूपमा नदी पार गर्न नसकेका हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वाबाट असई यज्ञबहादुर योञ्जनको नेतृत्वमा डिजास्टर म्यानेजमेन्ट ९डीएम० टोली परिचालन गरिएको थियो। उद्धारका लागि १७ जना सुरक्षाकर्मी र रबर बोट खटाइएको थियो।

उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि अपराह्न ५ बजेतिर सबैलाई सुरक्षित रूपमा नदीबाट बाहिर निकाली घर पठाएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले जानकारी दिएका छन्।

मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा पानीको सतह बढ्ने क्रम जारी रहेकाले सशस्त्र प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा जाने क्रममा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Comment


Related News

Latest News

Trending News