सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन भरतपुरमा आइतबारदेखि शुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका छन् ।
उद्घाटन सत्रपछि बन्द सत्र शुरु भएको छ । महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति रवि लामिछानेले रास्वपाले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् । जनताले दिएको मतादेशलाई आत्मसात गर्दै सबै राजनीतिक दलसँग सहकार्य र सहयोगको वातावरण निर्माण गर्ने उनको भनाइ थियो । पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले महाधिवेशनमार्फत एकताको सन्देश दिने बताए । ‘गुट र उपगुटले दिने फल विषालु हुन्छ । त्यसैले अहिले नै सही बीउ रोप्न आवश्यक छ,’ उनले भने । पुराना राजनीतिक दलका कमजोरीबाट पाठ सिकेर रास्वपा गुटरहित ढंगले अघि बढे कुनै शक्तिले पराजित गर्न नसक्ने उनको भनाइ छ ।
राष्ट्रिय राजनीति सुधारका लागि रास्वपा मात्र होइन, अन्य दलहरू पनि सुदृढ हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्याको समाधान हुनुपर्ने बताए । सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताए । त्यस्तै प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारलाई ‘एक्स्प्रेस’ गाडीसंग तुलना गर्दै सरकार निर्धारित गन्तव्यमा पुगेपछि मात्र रोकिने बताए । ‘हाम्रो सरकार एक्स्प्रेस वेमा गुडिरहेको गाडी हो, यो अनियन्त्रित छैन,’ उनले भने । रास्वपा विकास र काममा केन्द्रित पार्टी भएको उल्लेख गर्दै उनले सरकार नियम र कानुनको सीमाभित्र रहेर काम गर्ने स्पष्ट पारे । प्रधानमन्त्री साहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको दोहो¥याउँदै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसंग रहेको बताए ।
सीमासम्बन्धी विषय छिमेकी मुलुकसंग संवादमार्फत समाधान गरिने उनको भनाइ थियो । ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ’, उनले भने, ‘हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशंका लिनु पर्दैन ।’ आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उनले प्रस्ट्याए । पार्टीभित्र समूह र गुट निर्माण नगर्न कार्यकर्तालाई आग्रह गर्दै उनले जनताको विश्वास जितेर नेतृत्व स्थापित गर्नुपर्ने धारणा राखे । सुकुम्बासी र सहकारी ठगीजस्ता समस्याको समाधान यही कार्यकालभित्र गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा नयाँ एजेन्डासहित जनतामाझ जाने बताए । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उहाँले रास्वपा विकासवादी पार्टी भएको दाबी गरे । ‘रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन’, उनले भने ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना व्यक्त गरेका थिए । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा -एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलगायतले महाधिवेशनको सफलताको शुभकामना दिए । उनीहरुले छोटो समयमा रास्वपाले राष्ट्रिय राजनीतिमा स्थापित स्थान बनाएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम गर्न सुझाव दिए ।
महाधिवेशनका अवसरमा भारत, चीन, भुटान, बंगलादेश, मलेसिया र दक्षिण कोरियासहित विभिन्न देशका राजनीतिक दलबाट पनि शुभकामना सन्देश प्राप्त भएका छन् । परराष्ट्रमन्त्री तथा रास्वपा नेता शिशिर खनालले ती सन्देश वाचन गर्दै नेपालको स्थिरता, विकास र समृद्धिका लागि रास्वपाले प्राप्त गरेको जनादेशको प्रशंसा गरिएको जानकारी दिए । महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

