फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन अस्वीकार गरेको छ । जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो ।
गत फेब्रुअरीमा नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसमा कुनै सुधार नभएको निष्कर्ष निकालेको छ। रणनीतिक कमजोरीलाई सम्बोधन गर्न एफएटीएफ कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने भन्दै नेपाललाई ग्रे लिस्टबाट हटाउन अस्वीकार गरेको हो ।
एफएटीएफले विभिन्न ७ वटा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने जनाएको छ । जसमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य बैंकहरू, उच्च–जोखिम सहकारीहरू, क्यासिनोहरू, घर जग्गा क्षेत्रको जोखिम–आधारित पर्यवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपुर्याई भौतिक रूपमा महत्त्वपूर्ण अवैध हुन्डी प्रदायकहरूको पहिचान र स्वीकृति प्रदर्शन गर्ने काम गर्नुपर्ने छन् ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान सञ्चालन गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउने, सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि प्रदर्शन गर्ने शर्त पनि छन्।
अर्काेतिर जोखिम प्रोफाइल अनुरूप अपराधको आम्दानी र साधनहरू पहिचान गर्न, पत्ता लगाउन, रोक्न, जफत गर्न र लागू भएमा जफत गर्ने उपायहरू प्रदर्शन गर्ने कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने एफएटीएफलले औँल्याएको छ ।

