२०८३ असार १२, शुक्रबार ०७:३९

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएसंगै अब पदाधिकारी चयनको प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गर्दै निर्वाचन आयोगले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ६ पदाधिकारीका लागि बिहीबार रातिदेखि मतदान शुरु भएको छ ।

यद्यपि अन्तिम समयसम्म पदाधिकारीका लागि सर्वसम्मतका लागि प्रयाससमेत थालिएको छ । पदाधिकारीमा सहमतिको प्रयास जारी रहेकाले केही पदमा निर्वाचन नै नहुन सक्ने सम्भावना पनि रहेको स्रोतको दाबी छ । संशोधित कार्यतालिकाअनुसार पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया साँझ सम्पन्न गरिनेछ भने मतदान राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म सञ्चालन हुनेछ । नतिजा राति साढे १ बजेसम्म सार्वजनिक गर्ने लक्ष्य निर्वाचन आयोगले राखेको छ ।

यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र साहको चयन निश्चित भएको स्रोतले जनाएको छ । अब दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा हुने भएको छ । यस महाधिवेशनमा ९९ केन्द्रीय सदस्य पदका लागि ३७९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचन आयोगका अनुसार प्रवासबाट अनलाइनमार्फत ४० मत र महाधिवेशनस्थलमा विद्युतीय प्रणालीमार्फत २ हजार ९ सय ५९ मत खसेको छ । महाधिवेशनका लागि ४ हजार ३ सय ११ प्रतिनिधि चयन गरिएको जानकारी यसअघि दिइए पनि मतदानमा करिब १३ सय प्रतिनिधि अनुपस्थित देखिएका छन् ।

यसले पार्टीभित्र प्रतिनिधिको सक्रियता र संगठनात्मक व्यवस्थापनबारे प्रश्न उठाएको छ । सरकारमा रहेका अधिकांश मन्त्री तथा चर्चित नेताहरूले केन्द्रीय सदस्य निर्वाचनबाट अत्यधिक मतलाई निर्वाचित भएका छन् । जसले पार्टीभित्र उनीहरूको प्रभाव कायम रहेको संकेत गरेको छ ।

महाधिवेशनको अर्को महत्वपूर्ण पक्ष भनेको सभापतिलाई दिइएको व्यापक मनोनयन अधिकार हो । रास्वपा विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ सदस्य सभापतिले मनोनीत गर्न सक्ने व्यवस्था छ । त्यस्तै एक उपसभापति, एक वरिष्ठ नेता, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षसमेत सभापतिले मनोनयन गर्न सक्ने प्रावधान रहेको छ ।

यस व्यवस्थाले पार्टीभित्र समावेशी प्रतिनिधित्व र नेतृत्व व्यवस्थापनलाई सहज बनाउने तर्क गरिए पनि निर्णय प्रक्रियामा सभापतिको प्रभाव अत्यधिक हुने टिप्पणी पनि हुन थालेको छ । यही कारण कतिपय प्रभावशाली नेताहरूले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी नदिई मनोनयनमार्फत नेतृत्व तहमा पुग्ने रणनीति अपनाएको बुझिएको छ ।

अब पदाधिकारी निर्वाचनको परिणामले रास्वपाको आगामी शक्ति संरचना निर्धारण गर्नेछ । केन्द्रीय सदस्य निर्वाचनले लोकप्रिय नेताहरूको आधार देखाइसकेको अवस्थामा पदाधिकारी चयनले पार्टीभित्रको वास्तविक शक्ति सन्तुलन, समूहगत समीकरण र सभापति रवि लामिछानेको नेतृत्व शैलीलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

महाधिवेशनपछि रास्वपा संगठनात्मक रूपमा कति मजबुत बन्छ र सरकार तथा पार्टीबीचको सम्बन्धलाई कसरी व्यवस्थापन गर्छ भन्ने अपेक्षा लिएको बताइएको छ । केन्द्रीय सदस्य खुलातर्फ स्वर्णिम वाग्ले, सोविता गौतम, तोशिमा कार्की, राजिव खत्री, रञ्जु दर्शना, मनिष झा, विपिन आचार्य, रमेश प्रसाईं, सागर ढकाल, शिशिर खनाल, इन्दिरा राना, कबिन्द्र बुर्लाकोटी , निशा डाँगी, हरि ढकाल, गणेश पराजुली, यज्ञमणि न्यौपाने, गणेश कार्की, पुकार बम, समीक्षा बाँस्कोटा, जगदीश खरेल, रीमा विश्वकर्मा, सुलभ खरेल, सस्मित पोखरेल, ज्वाला संग्रौला, लिमा अधिकारी, विराजभक्त श्रेष्ठ, मिलन लिम्बु, राजुनाथ पाण्डे, अनुष्का श्रेष्ठ, हिमेश पान्त, विजय जैरू, अरनिको पाँडे, खगेन्द्र सुनारलगायतका केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News