मधेश प्रदेशका राजधानी समेत रहेका धनुषाका जनकपुरधाम उपमहानगरपालिका सहित प्रदेशका १० वटा नगरपालिकाले बजेट ल्याउन सकेको छैन ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तोकिएको समयसीमा असार १० गतेभित्र १४ वटा नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आ.व.को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेस गर्न नसकेको तथ्य सार्वजनिक गर्न सकेको छैन ।
नेपाल नगरपालिका संघका अनुसार देशभरका २९३ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये २७९ वटा स्थानीय तहले समयमै बजेट प्रस्तुत गरेका छन् भने १४ वटा स्थानीय तह विभिन्न आन्तरिक असमझदारी तथा प्राविधिक कारणले बजेट ल्याउन असफल भएका छन् । प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेशमा बजेट प्रस्तुत गर्न नसक्ने स्थानीय तहको संख्या सबैभन्दा बढी देखिएको छ ।
प्रदेशका ७७ नगरपालिकामध्ये ६७ वटाले मात्र समयमै बजेट पेस गरेका छन् भने १० वटा स्थानीय तहले बजेट ल्याउन सकेनन् । समयमै बजेट प्रस्तुत गर्न नसक्नेमा जनकपुरधाम उपमहानगरपालिकासहित अन्य नगरपालिकाहरुमा रौतहटका गरुडा, गढीमाई, कटहरिया र फतुवा विजयपुर नगरपालिका, धनुषाका जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, सिराहाको सुखीपुर नगरपालिका तथा महोत्तरीको जलेश्वर नगरपालिका रहेका छन् ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट हरेक वर्ष असार १० गतेभित्र नगर सभामा अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था छ । समयमै बजेट पेस नगर्दा स्थानीय तहको वार्षिक विकास योजना प्रभावित हुने मात्र नभई संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँड रकममा कटौती हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
मेयर मनोज साह कुनै कार्यक्रममा सहभागी हुन नेपाल बाहिर इजरायल गएका कारण जनकपुरधाम उपमहागरपालिकाले नगरसभा गर्न नसकेको बुझिएको छ । उपमहानगरपालिकाका उपमेयर किशोरी साहले मेयर साब यहाँ नरहेका कारण समयमा नगरसभा गर्न नसकिएको नभएको बताएका छन् ।
यस्तै विदेह नगरपालिकाका प्रमुख बेचन दासले आर्थिक वर्ष २०८१/८२ को फर्छौट हुन नसकेका कारण नगरसभा गर्न नसकिएको बताएका छन् । उनले भने, ‘जेनजी आन्दोलनको क्रममा अफिसमा आगो लगाइदियो । पुरानो हाकीम साहेबले फाइल प्रमाणित गर्दा हरहिसाब फर्छाैट गर्न बांकी रहेकाले नगरसभा गर्न सकिएको छन ।’
उता, कमला नगरपालिकाका मेयर विशेश्वर यादवले जनप्रतिनिधि विवादले समयमा नगरसभा गर्न नसकेको बताउंछन । उनले अब चाँडै बोर्डको बैठक बसेर नगरसभाको मिति तय गर्ने बताए । नगरसभा गर्ने धनुषाका स्थानीय तहहरूमा गणेशमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनीयाँ गाउँपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका रहेको छ ।
यस्तै, सबैला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपािलका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छ । केही स्थानीय तहले नगरसभाबाट बजेट पारित समेत गरिसकेको छ भने अधिकांशको नगरसभामा पेश भएपनि पारित हुन बाँकी छ । उनीहरुले असार मसान्तको विभिन्न मितिमा नगरसभा गरेको छ ।

