सुरक्षित पुनःस्थापनाको सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुरक्षित पुनःस्थापना, भू स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरुले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।
प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीका तर्फबाट दल मर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दवाव दिदा मानसिक तनाव उत्पन्न भएको बताउनुभयो । उहाले सरकारका बिभिन्न निकाय र प्रहरीहरुले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दवाव दिएको उल्लेख गर्नुभयो ।
उहाले आफुहरुलाई सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गर्नुभयो । प्रदर्शनमा सहभागीहरुले डोजर होइन, समाधान दे, जनता मार्न पाइदै, यस्तो सरकार चाहिदैन, गरिबमाथिको ज्यादती बन्द गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरु आन्दोलित भएका हुन् ।

