आँप उत्पादनका लागि देशकै प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा चालु आर्थिक वर्ष आँपको उत्पादन उल्लेखनीय रूपमा घटेको छ ।
खेती गरिएको क्षेत्रफल विस्तार भए पनि प्रतिकूल मौसम र रोग–किराको असरका कारण उत्पादनमा अपेक्षित वृद्धि हुन नसकेको सरकारी तथ्यांकले देखाएको छ । कृषि विकास निर्देशनालय, नक्टाझिज (धनुषा) ले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको थियो। प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्वका आधारमा कुल २ लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको छ ।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदा प्रतिहेक्टर औसत ११.४३ मेट्रिक टन उत्पादन भएको थियो। त्यस वर्ष प्रदेशभर ३ लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो। यसरी हेर्दा यस वर्ष खेतीयोग्य क्षेत्रफल २ हजार ६९४ हेक्टरले विस्तार भए पनि कुल उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिएको छ । निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार उत्पादनमा आएको गिरावटको मुख्य कारण फूल फुल्ने र फल लाग्ने महत्वपूर्ण समयमा आएको हावाहुरी तथा रोग–किराको प्रकोप हो । उनले प्रतिकूल मौसम र कीराको आक्रमणले फल विकास प्रक्रियामा प्रत्यक्ष असर पु¥याएको बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा किसानहरूले उन्नत जातका बिरुवा रोप्न थालेका छन् । साथै बगैंचा व्यवस्थापन, सिँचाइ सुविधा तथा आधुनिक खेती प्रणालीमा पनि सुधार आएको छ। तर प्राकृतिक विपद् र रोग–किरा नियन्त्रण प्रभावकारी हुन नसक्दा अपेक्षा अनुरूप उत्पादन हासिल गर्न नसकिएको उनको भनाइ छ ।
निर्देशनालयको तथ्यांकले सिरहा र सप्तरीलाई प्रदेशका प्रमुख आँप उत्पादक जिल्लाका रूपमा देखाएको छ। यद्यपि उत्पादकत्वका हिसाबले यस वर्ष बारा अग्रस्थानमा रहेको छ, जहाँ प्रतिहेक्टर १३.८० मेट्रिक टन उत्पादन भएको छ। सबैभन्दा कम उत्पादकत्व भने सर्लाहीमा रहेको छ, जहाँ प्रतिहेक्टर ६.२० मेट्रिक टन मात्र उत्पादन भएको छ । जिल्लागत उत्पादन विवरण् अनुसार धनुषामा ३ हजार ३२४ हेक्टर क्षेत्रफलबाट २३ हजार २७५ मेट्रिक टन, महोत्तरीमा ३ हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, सप्तरीमा ८ हजार ३८७ हेक्टरबाट ७५ हजार ५०० मेट्रिक टन तथा सिरहामा ९ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन आँप उत्पादन भएको छ । त्यस्तै रौतहटमा ४ हजार ७७ हेक्टर क्षेत्रबाट ५४ हजार ३७८ मेट्रिक टन, बारामा १ हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन, सर्लाहीमा २ हजार १०० हेक्टरबाट १३ हजार मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलबाट ५ हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
मधेश प्रदेशमा बम्बई, माल्दह, कृष्णभोग, दशहरी, जर्दा, अम्रपाली, बिजु, गुलाबखास र कलकतिया लगायतका विभिन्न जातका आँप व्यावसायिक रूपमा खेती हुँदै आएका छन्। कृषि विज्ञहरूले उत्पादनमा आएको गिरावटलाई न्यूनीकरण गर्न मौसमअनुकूल व्यवस्थापन, प्रभावकारी रोग–किरा नियन्त्रण र आधुनिक बगैंचा व्यवस्थापनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । मधेशमा उत्पादन भएको आँप आन्तरिक बजारसँगै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख सहरहरूमा समेत आपूर्ति हुने गरेको छ । वैशाखदेखि असारसम्म स्थानीय आँप बजारमा आउने गर्छ । सुरुमा बम्बई जात र पछि माल्दह तथा अन्य जातका आँप बिक्रीमा आउँछन् । फलफूल तथा तरकारी व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष रमन झाका अनुसार यस वर्ष धार्मिक तथा सामाजिक गतिविधि घट्दा आँपको बिक्री प्रभावित भएको छ । जेठ महिनामा पुरुषोत्तम मास परेकाले विवाह, व्रतबन्ध तथा अन्य कार्यक्रम कम हुँदा माग घटेको उनले बताए । फलफूल व्यवसायी भुवनेश्वर साहका अनुसार आर्थिक मन्दीका कारण उपभोक्ताको खरिद क्षमता घटेको छ ।
पहिले १०–२० किलोसम्म आँप किन्ने ग्राहक अहिले एकदेखि डेढ किलोमै सीमित भएको उनको भनाइ छ । यसैबीच, आँप व्यवसायी मुकेश साहका अनुसार किसानबाट ४०– ५० रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको आँप थोक बजारमा ६०–६५ रुपैयाँ र खुद्रा बजारमा ८०–१०० रुपैयाँसम्म बिक्री भइरहेको छ । तर, बिक्री नहुँदा कतिपय व्यापारीलाई गोदाममै आँप कुहिने र फाल्नुपर्ने अवस्था समेत आएको व्यवसायीहरूको भनाइ छ । यसैबीच, कृषि तथा व्यवसाय क्षेत्रका सरोकारवालाहरूले रोग नियन्त्रण, प्राविधिक सहयोग, सिँचाइ विस्तार र किसानलाई अनुदान बढाउन सके आगामी वर्ष उत्पादन सुधार सम्भव हुने बताएका छन् । मधेश प्रदेशमा आँप खेती व्यावसायिक रूपमा विस्तार भइरहेको भए पनि प्राकृतिक जोखिम र व्यवस्थापकीय कमजोरीका कारण उत्पादन स्थिर राख्न चुनौती देखिएको छ ।

