पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन आजकै दिनबाट वामपन्थी एकतालाई अगाडि बढाऔँ भन्दै सबै कम्युनिस्ट शक्तिलाई साझा उद्देश्यका साथ एक ठाउँमा उभिन आह्वान गर्नूभयो । सम्मानित नेता खनालले मुलुकमा देखिएका राजनीतिक चुनौती, अस्थिरता र विभाजनको अन्त्यका लागि वामपन्थी शक्तिबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नूभयो । उहाँले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मर्म र कम्युनिस्ट आन्दोलनको एकताको भावनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको उल्लेख गर्दे समाजमा आतंक सिर्जना गरेर सुकुमवासी समस्या समाधान नहुने बताउनुभयो । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक भूमिहीन, गरिब किसान सुकुमवासीको समस्या समाधान नहुने उहाँको भनाइ थियो ।
खनालले मदन भण्डारी र जीवराज आश्रितको योगदानको सम्मान गर्ने सबैभन्दा उपयुक्त उपाय उनीहरूले देखाएको राजनीतिक मार्गलाई आत्मसात् गर्दै वामपन्थी एकतालाई सशक्त रूपमा अघि बढाउनु भएको बताउनुभयो । साथै, उहाँले दासढुंगा घटनाको वास्तविकता सार्वजनिक नभएसम्म न्यायको अनुभूति हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

