२०८३ असार १६, मंगलवार ०७:३५

नेपाल–भारत सीमासंग जोडिएको मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा पारिएको छ । संघीय सरकारका गृहमन्त्री सुधन गुरुङले दुई दिनअघि बारा र पर्सा क्षेत्रको छड्के निरीक्षण गर्दै तस्करी नियन्त्रण र शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई निर्देशन दिएपछि सीमा क्षेत्रमा प्रहरीको सक्रियता बढेको छ ।

यसले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्ने सरकारको स्पष्ट सन्देश दिएको छ । सीमावर्ती जिल्लामा तस्करी लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ । खुला सीमा, स्थानीय आवतजावत र सीमित निगरानीका कारण कपडा, खाद्यान्न, इलेक्ट्रोनिक सामग्रीदेखि अन्य विभिन्न वस्तुको अवैध ओसारपसार हुँदै आएको गुनासो रहँदै आएको थियो । गृहमन्त्रीको प्रत्यक्ष अनुगमनपछि प्रहरी प्रशासनले सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउँदै नियमित निगरानी, गस्ती र सूचना संकलनमा जोड दिएको देखिन्छ ।

गृहमन्त्री गुरुङको सीमा नाका क्षेत्रको निरीक्षणपछि अहिले रौतहटसहित मधेश प्रदेशको आठ वटै जिल्लाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । यसबाट सीमा नाका क्षेत्रमा हुँदै आएको तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न प्रहरी थप सक्रिय भएको छ । गृहमन्त्री गुरुङले बारा, पर्साको छड्के अनुगमन गरी तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न कडा निर्देशन दिएपछि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा प्रहरीले आफ्नो प्रभावकारी सक्रियता, जिम्मेवार र व्यावसायिक ढंगबाट कार्यसम्पादन गरी जिल्लावासीको मन जित्न मातहतका ‘युनिट’लाई निर्देशन दिएको छ ।

रौतहट प्रहरीका प्रहरी उपरीक्षक सीताराम रिजालले बदलिँदो परिस्थितिलाई सूक्ष्मरुपमा विश्लेषण गरी जिल्लास्थित अन्य सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने उद्देश्यका साथ मातहतका प्रहरी ‘युनिट’ लाई स्पष्ट निर्देशन दिएसँगै सकारात्मक परिणाम आउन थालेको जानकारी दिए । प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, ‘सुरक्षाका दृष्टिले अति संवेदनशील र संवेदनशील क्षेत्रको पहिचान गरी सोही अनुसार हरेक पाँच किलोमिटरमा प्रहरी पोष्टको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय गौरको ‘कमाण्ड’ मा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा चपुर र गरुडामा रहेका प्रहरी कार्यालयको निगरानीमा मातहतका १० वटा इलाका प्रहरी कार्यालयसहित जिल्लाभरका प्रहरी पोष्टमा तैनाथ करिब ९०० प्रहरीलाई थप सक्रिय बताइएसँगै सुरक्षा व्यवस्था चुस्तदुरुस्त भएको छ ।’

त्यस्तै प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता वसन्त गौतमले जनाए अनुसार मध्य तराईका बारा, पर्सा र सर्लाहीका सुरक्षा अधिकारीहरूसंग समेत आवश्यक समन्वय गरी रौतहटको सुरक्षा व्यवस्थामा कडाइ गरेपछि शान्ति सुव्यवस्थामा उल्लेखनीय सुधार भइ गुनासो आउने क्रम रोकिएको, अवैध कारोबारमा संलग्न जो कोहीलाई पक्रेर दण्डित गर्न थालेपछि ‘तस्कर’ हरूको भागाभाग भएको, राजस्व संकलनमा वृद्धि भएको र समग्रमा रौतहटको सुरक्षा व्यवस्था अपेक्षा गरिएभन्दा पनि सकारात्मक प्रभाव परेको देखिन्छ ।

यस अभियानको प्रभाव रौतहटमा मात्र सीमित नभइ पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीसम्म विस्तार भएको छ । आठवटै जिल्लाका सीमा नाकामा निगरानी बढाइएको छ भने सुरक्षा निकायबीचको समन्वयलाई पनि प्राथमिकता दिइएको छ। यसले मधेश प्रदेशभर एकीकृत सुरक्षा रणनीति लागू गरिएको देखाउँछ । जिल्लास्थित सरमुजवा -बंकुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवामा गरी १० वटा इलाका प्रहरी कार्यालयसहित मातहतका प्रहरी पोष्टमा खटिएका प्रहरी कर्मचारीले रौतहटमा भरपर्दाे एवं विश्वसनीय सुरक्षा प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ ।

यसैबीच रौतहटसंगै जोडिएको बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयले अपराध तथा तस्करी नियन्त्रणलाई अभियानका रुपमा टोली सञ्चालन गरी पछिल्लो आठ महिनमा करिब एक करोड १० लाख रुपैयाँ मूल्यको समान बरामद गरी पथलैया भन्सार कार्यालयलाई बुझाएको जनाएको छ । सो कार्यालयका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार यही शनिबार एकै दिन ३० लाख ९० हजार रुपैयाँ मूल्यको सामान बरामद गरिएको छ । भने सीमा नाका क्षेत्रबाट हुँदै आएको गैरकारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि रौतहट नजिकको कचौरवासहित अडुवा खोला, पचरौता, पिपरपाटी, घाटतोलालगायतका नाकाबाट हुने अवैध कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि मातहतका प्रहरी टोलीलाई थप सक्रिय बनाइएको छ ।

शनिबार बिहानै गृहमन्त्री गुरुङ पर्साका सीमा नाकाहरुमा गुपचुपमा पुगेका थिए । त्यहाँका स्थानीयहरुसंग गृहमन्त्री गुरुङले भलाकुसारीसमेत गरेका थिए । सीमा नाकाको अनुगमन गरे पनि बारा, पर्सालगायतका सुरक्षानिकाय तथा प्रमुख जिल्ला अधिकारीलाई भने कुनै पनि जानकारी गराएका थिएनन् । पर्सनल सेक्युरेटी अफिसर -पीएसओ)संग निजी गाडीमा उनी सीमा क्षेत्र घुम्दै स्थानीयसंग संवाद गर्दै हिँडेको सार्वजनिक फोटो तथा भिडियोमा देखिएको छ । त्यसपछि उनी सिमराबाट शनिबार साँझपख हवाईमार्ग हुँदै काठमाण्डु फर्किएका थिए ।

Comment


Related News

Latest News

Trending News