देशभरसहित धनुषामा राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा प्रतिनिधि सभाका उपसभामुखरुबीकुमारी ठाकुर धनुषा जनकपुरधाम १४ स्थित आफ्नै खेतमा धान रोपाइँ गरी धान दिवस मनाएको छ ।
जनकपुरधामको मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा पुगेर उपसभामुख ठाकुरले किसानसँगै धान रोप्दै कृषि पेसाप्रति सम्मान व्यक्त गरिन् । धान रोपाइँमा सहभागी हुँदै उनले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकाले किसानको श्रम र योगदानको उच्च कदर हुनुपर्ने बताइन् । उपसभामुख बन्नुअघि पनि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गरेको बताइन्छ । किसान परिवारमा हुर्किएकी ठाकुरका बुबाआमा अहिले पनि कृषि कर्ममै सक्रिय छन् ।
सार्वजनिक जिम्मेवारीमा पुगेपछि पनि कृषि र किसानसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ । हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वका रूपमा देशभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । उता धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धानमा पनि २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित सो कार्य कृषि क्षेत्रमा बढ्दै गएको चुनौतीबीच आधुनिक प्रविधि, अनुसन्धान र किसानमैत्री नीतिमार्फत धान उत्पादन बढाउनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नमा पूर्ण आत्मनिर्भर बन्न नसक्नु चुनौतीपूर्ण विषय भएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरलाई समयमै सम्बोधन नगरे कृषि उत्पादनमा थप संकट आउन सक्ने बताए । उनले कृषि क्षेत्रलाई परम्परागत अभ्यासबाट आधुनिक र वैज्ञानिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धान संस्थाले विकास गरेका प्रविधि र उन्नत जातका बीउ किसानसम्म प्रभावकारी रूपमा पु¥याउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा प्रसाद यादवले पछिल्ला वर्षहरूमा धान उत्पादनमा सकारात्मक सुधार देखिएको जानकारी दिए । उनका अनुसार हर्दिनाथ क्षेत्रसहित यस भेगमा प्रतिहेक्टर औसत करिब चार मेट्रिक टन धान उत्पादन भइरहेको छ । तर, जलवायु परिवर्तनका कारण अनियमित वर्षा, अत्यधिक तापक्रम तथा रोग–कीराको जोखिम बढ्दै जाँदा उत्पादनमा दीर्घकालीन असर पर्ने सम्भावना रहेको उनले बताए ।
दिवसको अवसरमा अनुसन्धान केन्द्र परिसरमा कृषि वैज्ञानिक, प्राविधिक, किसान, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीले सामूहिक रूपमा धान रोपाइँ गरेका थिए । कृषि विभागले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न आधुनिक तथा जलवायुमैत्री खेती प्रणाली अपनाउन किसानलाई आग्रह गर्दै आएको छ ।

