मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता जितेन्द्र सोनलले संघीय व्यवस्थामाथि छेडखानी गरिए मधेसी जनता प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सोनलले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव अघि सारिएकोप्रति आपत्ति जनाएका हुन् । उनले संघीयता,समानुपातिक समावेशिता,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिका लगागयतका विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै ती उपलब्धि कुनै पनि बहानामा खारेज गर्ने प्रयास भए मधेसी जनताले त्यसको कडा प्रतिवाद र प्रतिरोध गर्ने उनले चेतावनी दिएका छन् ।
सोनलले नेपालको संविधान २०७२ मा केही त्रुटि रहेको स्वीकार गर्दै आवश्यक संशोधन र परिमार्जन गर्न सकिने बताए । तर,संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कुनै पनि प्रकारको छेडखानी गरिए त्यो मधेसी जनतालाई स्वीकार्य नहुने उनको भनाइ छ । यसैगरी उनले संघ सरकारले प्रदेश प्रहरी ऐन तत्काल कार्यान्वयन गरी प्रदेश सरकारलाई अझ अधिकारसम्पन्न र बलियो बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

