मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरधाम न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा मधेश प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
स्वास्थ्य सेवा, व्यवस्थापन, सरसफाइ, जनशक्ति परिचालन, उपकरणको उपलब्धता तथा बिरामीमैत्री सेवामा निरन्तर सुधार गर्दै आएको अस्पतालले ७२ अंक प्राप्त गर्दै प्रदेशका सरकारी अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको हो । स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुको गरेको एमएसएस मापनमा पोखरा विज्ञान प्रतिष्ठान ल्याएको ७१ अंक भन्दा बढी मधेश स्वास्थ्य विज्ञानको प्रादेशिक अस्पताले ७२ अंक रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशअन्तर्गत स्वास्थ्य निर्देशनालयले गरेको अनुगमन तथा मूल्यांकनमा प्रादेशिक अस्पताल जनकपुरधाम सबैभन्दा बढी ७२ अंकसहित उत्कृष्ट घोषित भएको हो । मूल्यांकन अनुसार गौर अस्पताल ७० अंकसहित दोस्रो, सिरहा अस्पताल ६२ अंकसहित तेस्रो, कलैया अस्पताल चौथो, लहान अस्पताल पाँचौं, जलेश्वर अस्पताल छैटौं तथा मलंगवा अस्पताल सातौं स्थानमा परेका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले अस्पतालको निरन्तर सुधार, सेवाको गुणस्तरमा गरिएको लगानी तथा कर्मचारीहरूको समर्पणका कारण यो उपलब्धि सम्भव भएको बताए । उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्पतालले सेवा प्रवाह, व्यवस्थापन र पूर्वाधार विकासमा उल्लेखनीय सुधार गरेको छ । उनले बिरामीले पाउने सेवा–सुविधा, अस्पतालमा उपलब्ध आधुनिक उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मीको नियमित ड्युटी व्यवस्थापन, सरसफाइ, औषधिको उपलब्धता तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ सुधार गरिएकाले सकारात्मक नतिजा प्राप्त भएको बताए ।
‘चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रतिष्ठानका पदाधिकारीहरूको सामूहिक मेहनत र सकारात्मक सोचका कारण आज प्रादेशिक अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको हो,’ डा. साहले भने । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेका गभर्नेन्स, क्लिनिकल सेवा, एलाइड हेल्थ सेवा, व्यवस्थापन तथा बिरामी सुरक्षासम्बन्धी प्रमुख सूचकमा अस्पतालले राम्रो अंक प्राप्त गरेको प्रतिष्ठानले जनाएको छ ।
तीन सय शैयाको स्वीकृति प्राप्त प्रादेशिक अस्पताल जनकपुरधामले हाल ३४० शैयाबाट सेवा प्रदान गरिरहेको छ । अस्पतालले थप ८० शैया विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अस्पतालमा हाल १२ बेड आईसीयू, १० बेड एनआईसीयू तथा १० बेड एचडीयू सञ्चालनमा छन्, जसले जटिल अवस्थाका बिरामीलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सहयोग पु¥याएको छ ।
प्रतिष्ठान अन्तर्गत गाभिएपछि पछिल्ला पाँच वर्षमा अस्पतालको सेवा उपयोग गर्ने बिरामीको संख्या ठूलो फड् को मारेको एमएससको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पतालको ओपीडीबाट ७७ हजार ५५२ जनाले सेवा लिएका थिए । तर चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म यो संख्या बढेर दुई लाख ६ हजार ४८३ पुगेको छ। आर्थिक वर्ष समाप्तिसम्म ओपीडी सेवाग्राहीको संख्या दुई लाख १६ हजार ६३३ पुग्ने अनुमान गरिएको प्रतिष्ठानका रजिस्ट्रार डा. विनोद यादवले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा १५ हजार १४८ जना बिरामी अस्पतालमा भर्ना भएका छन् भने ३१ हजार २२१ जनाले आकस्मिक (इमरजेन्सी) सेवा लिएका छन् । यसले अस्पतालप्रति नागरिकको विश्वास निरन्तर बढिरहेकाले सो अस्पतालमा धनुषा, महोत्तरी, सर्लाही र सिरहासम्मको बिरामी दिनहुँ उपचार गराउन आइरहेको उनले बताए ।
अत्याधुनिक स्वास्थ्य सेवा विस्तार
प्रादेशिक अस्पताल जनकपुरधामले सामान्य उपचारदेखि जटिल स्वास्थ्य सेवासम्म एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ। अस्पतालमा ओपीडी, इमरजेन्सी, सर्जरी, बर्थिङ सेन्टर, क्याथल्याब, मोडुलर अपरेशन थिएटर, राष्ट्रियस्तरको प्रयोगशाला, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउण्ड, एक्स–रे, मेमोग्राफी, एन्जियोग्राफी, एआरटी सेवा, फिजियोथेरापी लगायतका अत्याधुनिक सेवा सञ्चालनमा छन् । अस्पतालमा दैनिक २५ भन्दा बढी शल्यक्रिया हुने गरेको छ भने मोडुलर अपरेशन थिएटरमार्फत दैनिक कम्तीमा पाँच जनाको जटिल शल्यक्रिया सम्पन्न हुने गरेको अस्पतालले जनाएको छ ।
न्यूर ोसम्बन्धी उपचारका लागि पनि दैनिक १५ भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् । प्रसूति सेवातर्फ अस्पतालले वार्षिक करिब सात हजार महिलालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ। उत्कृष्ट मातृ तथा प्रसूति सेवाका आधारमा अस्पताल देशकै दोस्रो उत्कृष्ट सरकारी अस्पतालको रूपमा समेत परिचित रहेको प्रतिष्ठानको दाबी छ । अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम, मानसिक स्वास्थ्य -साइकियाट्रिक) सेवा, मेडिको–लिगल सेवा, पल्मोनरी फङ्सन टेस्ट -पीएफटी), परिवार नियोजन, एआरभी सेवा, ईईजी, इन्डोस्कोपी, इम्युनोलोजी, सर्पदंश उपचार, विभिन्न खोप सेवा, टेलिमेडिसिन तथा सशुल्क र निःशुल्क फार्मेसी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मात्रै ७५ हजारभन्दा बढी सेवाग्राहीले उपचार सेवा लिइसकेका छन् । उनले आगामी दिनमा सेवा विस्तारसँगै उपचारको गुणस्तरलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताए ।
चिकित्सा शिक्षाको केन्द्र बन्दै प्रतिष्ठान
स्वास्थ्य सेवा मात्र नभई चिकित्सा शिक्षामा पनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो दायरा विस्तार गरिरहेको छ । प्रतिष्ठानमा हाल एमबीबीएस, एमडी/एमएस, बीएनएस, बीएससी नर्सिङ, ल्याब मेडिसिन तथा बीपीएच कार्यक्रम सञ्चालनमा छन् । प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितका अनुसार हाल एमबीबीएसमा ५०, एमडी/एमएसमा २१ तथा बीएनएस, बीएससी नर्सिङ, ल्याब मेडिसिन र बीपीएचमा जनही २०/२० विद्यार्थी अध्ययनरत छन्। दक्ष स्वास्थ्य जनशक्ति उत्पादनसँगै उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले शैक्षिक कार्यक्रमलाई थप विस्तार गर्ने तयारीसमेत गरिरहेको उनले बताए ।

