करिब दुई दशकअघि तेश्रो मधेश आन्दोलनको क्रममा महोत्तरीमा भएको थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्टाउँदै ६ जना प्रतिवादीलाई पाँच वर्ष कैद सजाय सुनाएको छ भने तीन जनाको जन्मकैदको फैसला सदर गरेको छ ।
उच्च अदालत जनकपुरको संयुक्त इजलासका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँबर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०६० साल मंसिर २८ गतेको फैसला पुनरावलोकन गर्दै यस्तो निर्णय गरेको छ । अदालतले प्रदीप साह माझी, संजय कुमार साह र मोहन ठाकुरविरुद्ध प्रस्तुत भएका प्रमाणहरू पर्याप्त रहेको निष्कर्ष निकाल्दै उनीहरूलाई तत्कालीन मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३(२) नम्बर बमोजिम जन्मकैद हुने जिल्ला अदालतको फैसला सदर गरेको छ । फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको पुष्टि भएको उल्लेख गरिएको छ ।
यसका साथै यी तीन प्रतिवादीविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानका क्रममा उनीहरूले आरोप स्वीकार गर्दै बयान दिएको, घटनापछि घाइतेलाई उपचारका लागि एम्बुलेन्समा लैजाँदा साथमा रहेका साक्षीहरूले अनुसन्धान अधिकारीसमक्ष उनीहरूको संलग्नता पुष्टि गर्ने कागज गरेका तथा घटनास्थलका फोटोबाट समेत उनीहरूले थमन विकमाथि आक्रमण गरेको देखिएको आधारलाई अदालतले निर्णायक प्रमाणका रूपमा स्वीकार गरेको छ । तर अन्य प्रतिवादी अभिराम शर्मा, धर्मेन्द्र राय, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, सुरेश पाण्डे, पूर्वसांसद तथा एमालेका नेता लक्ष्मी महतो र पवन कापरको हकमा भने जिल्ला अदालतको फैसला उच्च अदालतले संशोधन गरेको छ ।
उच्च अदालतले यी प्रतिवादीहरूले थमन विकमाथि प्रत्यक्ष रूपमा आक्रमण गरेको कुनै वस्तुनिष्ठ प्रमाण नदेखिएको उल्लेख गरेको छ । यद्यपि, जन्मकैद सजाय पाएका प्रतिवादीहरूले अनुसन्धानका क्रममा दिएको पोलयुक्त बयानबाट उनीहरूले थमन विकको हत्या हुन सहयोग तथा संयोग पार्ने कार्यमा संलग्न रहेको देखिएको अदालतको ठहर छ । यही आधारमा अदालतले उनीहरूलाई तत्कालीन मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १७-२) नम्बर अनुसार दोषी ठहर गरेको छ ।
यससँगै जिल्ला अदालतले मधेश केन्द्रित दलका नेता तथा मधेश प्रदेशका पूर्वराज्यमन्त्री अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैद गर्ने तथा पूर्वसांसद लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिने गरेको फैसला उल्टिएको छ । उच्च अदालतले अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ । यस फैसलासंगै थमन विक हत्या प्रकरणमा प्रत्यक्ष रूपमा हत्या कार्यमा संलग्न रहेको ठहर भएका तीन जनाले जन्मकैदको सजाय भोग्नुपर्ने भएको छ भने हत्या हुन सहयोग तथा संयोग पु¥याएको अभियोग पुष्टि भएका थप ६ जनालाई पाँच वर्ष कैद सजाय हुने भएको छ ।
उच्च अदालतको यस निर्णयले प्रत्यक्ष हत्यामा संलग्न व्यक्ति र हत्या हुन सहयोग पु¥याउने व्यक्तिबीचको कानुनी जिम्मेवारीलाई छुट्टाछुट्टै रूपमा व्याख्या गर्दै प्रमाणको आधारमा सजाय निर्धारण गरेको देखिन्छ । थमन विक तत्कालीन सशस्त्र प्रहरी बलका असइ थिए । २०६४ भदौ २९ गते तत्कालीन मधेश आन्दोलनका क्रममा महोत्तरी गाउँपालिकाको गोइरगामा गाउँ क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच तनाव चर्किएको थियो । सुरक्षाकर्मी सवार गाडीमाथि आन्दोलनकारीले आक्रमण गरी तोडफोड तथा आगजनी गरेका थिए । त्यसक्रममा गम्भीर घाइते भएका विकलाई उपचारका लागि एम्बुलेन्समार्फत जनकपुरधाम ल्याइँदै गर्दा आन्दोलनकारीको समूहले बाटोमै एम्बुलेन्स रोकी बाहिर निकाली कुटपिट गरी हत्या गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।
त्यतिबेला देशभर व्यापक चर्चा पाएको उक्त घटनालाई मधेश आन्दोलनकै सबैभन्दा विवादास्पद घटनामध्ये एक मानिन्छ। घटनामा २८ जनाविरुद्ध कर्तव्य ज्यानको अभियोग दायर गरिएको थियो । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते फैसला सुनाएको थियो । त्यसविरुद्ध अभिराम शर्माका बुवा महेन्द्र शर्मा, रामशंकर मिश्रकी श्रीमती संगीता कुमारी शर्मा, सुरेश पाण्डेका तर्फबाट उनकी छोरी प्रियंका पाण्डे तथा धर्मेन्द्र रायका तर्फबाट उनका दाजु अरविन्दकुमार रायले २०८१ वैशाख ९ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । करिब अढाई वर्षसम्म सुनुवाइ चलेको उक्त मुद्दामा ५०औँ पेशीमा अन्तिम फैसला भएको छ । यस अवधिमा ४९ वटा पेशी स्थगित भएका थिए ।

