अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमुना) माध्यमिक विद्यालय को ८ कोठे प्रिस्कुल ब्लक निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालत मा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बहुवर्षीय गुरुयोजनाअन्तर्गत निर्माण गरिएको विद्यालय भवनमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको ठहर गर्दै बिहीबार आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार सुरुमा ९७ लाख ३७ हजार ९९४ रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनाको लागत पछि संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ पुर्याइएको थियो। निर्माण सम्पन्न भएपछि प्राविधिक बिलअनुसार १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ खर्च भएको देखाइए पनि आयोगको स्थलगत निरीक्षण र नापजाँचमा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम कम भएको फेला परेको जनाएको छ।
अनुसन्धानका क्रममा नभएको कामलाई भएको देखाएर झुटो बिल, भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सरकारी कोषलाई नोक्सानी पुर्याइएको आयोगको दाबी छ।
यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जाहिर विरुद्ध जनही ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारी का अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ।

