२०८३ असार २०, शनिबार १२:०९

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज १०० दिन पूरा भएको छ।

गतवर्ष फागुन २१ गते सम्पन्न नर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो १०० दिनको अवधिमा सरकारले केही सकारात्मक सुरुवात गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नुपरेको छ।

सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाफदेहितामा चुकेको छ। सहकारीका वचतकर्ताको रकम फिर्ता, भूमिहीन सुकुम्वासीहरुलाई जग्गा वितरण, कर्मचारीको खटनपटन, समयमै कक्षा १० र १२ को नतिजा, योग्यता र क्षमताका आधारमा राजनीतिक पदमा नियुक्ति, आर्थिक बोझ मात्र थपिरहेका संस्थान र निकायहरुको खारेजी लगायतलाई सकरारको उपलब्धीका रुपमा हेरिएको छ।

तर, विधि र प्रकृयाको पालना गर्ने सवालमा भने सरकार चुकेको छ। सरकार बनेको भोलिपल्टै हाइप्रोफाइल नेताहरको पक्राउसँगै सरकारले दिनको सुरुवात गरे पनि कमजोर अभियोजनका कारण अदालतसम्म मुद्दा पुग्न सकेन।

यही बीचमा सरकारले इतिहासकै ठूलो वित्तिय अपराधको मुद्दा अभियोजनको प्रकृयामा लैजानुलाई उपलब्धी मानिएको छ । शिक्षा र स्वास्थ्यमा कर लगाए पनि गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै अलोचना छ।

अध्यादेशमार्फत खारेज गरिएका १६ सय ठाउँमा नयाँ नियुक्ति गर्दा आफूनिकटलाई नै स्थान दिएकोमा पनि केही विरोधका आवाज सुनिएका छन् । संसदप्रति प्रधानमन्त्रीको अपनत्व र मन्त्रीहरुको जवाफदेहिता, संसद बन्द गरेर अध्यादेश ल्याउने लगायतका कदमहरुलाई सरकारले संसदलाई गरेको अबमूल्यनका रुपमा हेरिएको छ।

ठूलो आकारको बजेट आए पनि बजार चलायमान भएको छैन भने निजी क्षेत्र विश्वस्त भइसकेको देखिँदैन। सरकार आफैँले तीन महिनाभित्र गर्ने भन्दै बनाएको १०० बुँदे कार्यसूची समेत पूरा गर्न सकेन । धेरैजसो मन्त्रीहरुले नतिजा दिन नसकेको भन्दै प्रधानमन्त्री नै असन्तुष्ट रहेको विषय सार्वजनिक भएको छ।

सुरुवातमा आरोप लाग्नेवित्तिकै मन्त्री हटाएको सरकारले पछिल्लो समय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमनत्री सुधन गुरुङलाई चोख्याएको भन्दै अलोचना खेपिरहेको छ। विश्लेषकहरुको नजरमा सरकारको १०० दिन आशा जगाए पनि विश्वस्त हुने खालको छैन।

सुकुम्वासीहरुको व्यवस्थापनमा भएको चुक, संसदप्रतिको अनुदारता तथा दलीय ट्रेड यूनयन खारेजी लगायतका कदमले विपक्षीहरुलाई विरोध गर्ने ठाउँ सरकारले दिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता खडक बहादुर बुढाले १०० दिनको अवधिमा सरकारले आशातित काम गर्न नसकेको टिप्प्णी गरे।

रास्वपा सभापति रवि लामिछाने भने आफूहरुले तीन वर्षको प्याकेज बनाएर काम सुरु गरेका नतिजा आउन केही समय लाग्न सक्ने बताए। यद्यपि नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकार सफल भएको उनको दाबी छ। प्रधानमन्त्री शाहलै आजै १०० दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरे। मन्त्रीहरुले आफ्ना उपलब्धी धमाधम सार्वजनिक गरिरहेका छन्।

Comment


Related News

Latest News

Trending News