भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति भ्याक्सिनेटर घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले छापा मारेको छ ।
अख्तियारको टोलीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई अख्तियारको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको जानकारी आफूले पाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिए । कार्यालय प्रमुख दासले जनाए अनुसार भ्याक्सिनेटरहरूलाई घुस रकम माग्न सवारीचालकलाई दबाब दिएर फोन गर्न लगाउने गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले भ्याक्सिनेटरहरूलाई भ्याक्सिन लगाएवापत प्रति बाख्रा ५ रूपैयाँ र पशुचौपायाको १० रूपैयाँ दिने गरेको छ ।
उनीहरूले भ्याक्सिन लगाएको क्षेत्रका सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गराएर भुक्तानीका लागि निवेदन दिने गरेको छ । सो काम गरेको रकम भुक्तानी माग गर्दा कार्यालय प्रमुखले घुस मागेपछि भ्याक्सिनेटरहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामूहिक रुपमा उजुरी दिएका थिए ।

