२०८३ असार २३, मंगलवार ०६:३९

नेपाली कांग्रेसको संस्थापन इतर पक्ष शेरबहादुर देउवा समूह नयाँ पार्टी गठनको तयारीमा औपचारिक रूपमा अघि बढेको छ । काठमाण्डुको चुनदेवीस्थित ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’मा बसेको नेताहरूको बैठकबाट राष्ट्रिय भेला आह्वान गर्ने तयारीलाई अन्तिम रूप दिँदै त्यसको मिति तय गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेताहरूका अनुसार शीर्ष तहमा नयाँ पार्टी गठनबारे सहमति बनेपछि अब राष्ट्रिय भेलामार्फत औपचारिक निर्णय लिइनेछ । यसअघि असार १९ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा भएको छलफलमा नयाँ पार्टी गठनको रणनीति र राष्ट्रिय भेलाको उद्देश्यबारे सहमति जुटेको थियो । सो बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायत नेताहरू सहभागी थिए । उनीहरूले कांग्रेसभित्रको राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ विकल्प आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

बैठकमा कृष्णप्रसाद सिटौलाले कांग्रेसको ऐतिहासिक राजनीतिक विरासत बोकेका नेताहरू इतर पक्षमै रहेको दाबी गर्दै नेतृत्व चयनमा आफू दाबेदार नरहेको स्पष्ट पारे । उनले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको राजनीतिक धारसँग जोडिएका नेताहरूमध्येबाट नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए। स्रोतका अनुसार नयाँ पार्टीको नेतृत्वमा डा. शेखर कोइराला वा डा. शशांक कोइरालालाई अघि सार्ने विषयमा छलफल भइरहेको छ ।

नेता विमलेन्द्र निधि र प्रकाशमान सिंहले राष्ट्रिय भेला बोलाउने निर्णय अब थप लम्ब्याउन नहुनेमा जोड दिएका थिए । यस्तै, डा. प्रकाशशरण महत, एनपी साउद र रमेश लेखकले सभापति गगन थापा पार्टी एकताको पक्षमा सक्रिय नदेखिएको निष्कर्ष सुनाउँदै अब नयाँ राजनीतिक बाटो स्पष्ट पार्नुपर्ने बताएका थिए । लेखकले पटक–पटक संवाद गर्दा पनि एकीकरणको सम्भावना कमजोर बन्दै गएको अनुभव बैठकमा राखेका थिए । २०५९ सालमा नेपाली कांग्रेस विभाजन भएर कांग्रेस प्रजातान्त्रिक गठन हुँदा शेरबहादुर देउवासँग रहेका महत, साउद र लेखकले अहिले पनि आवश्यक परे नयाँ पार्टी गठन गर्न कठिनाइ नहुने धारणा व्यक्त गरेका थिए ।

सो बैठकमा गगन कुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेसंग भएका पछिल्ला संवादबारे जानकारी गराइएपछि अधिकांश नेताहरू राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका थिए । कांग्रेस इतर पक्षले नयाँ पार्टी निर्माणको अभियानलाई देशव्यापी बनाउने तयारी पनि गरेको छ । बीपी कोइरालाको स्मृति दिवसका अवसरमा साउन ६ गते देशका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाइने भएको छ । ती प्रतिनिधिले स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्दै नयाँ अभियानमा सहभागी हुन आग्रह गर्नेछन् ।

राष्ट्रिय भेला घोषणा भएपछि शीर्ष नेताहरू पनि आ–आफ्नो प्रदेशमा पुगेर कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन् । नयाँ पार्टीको सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने र चुनाव चिह्न ‘शंख’ बनाउने विषयमा प्रारम्भिक छलफल भएको नेताहरूले बताएका छन् । कांग्रेस नामलाई निरन्तरता दिने र पार्टी निर्माणलाई १५औँ महाधिवेशनसँगै आगामी स्थानीय तथा प्रदेश निर्वाचन केन्द्रित बनाउने रणनीति बनाइएको छ। नेतृत्वमा अनुभवी नेता रहने र अधिकांश पदाधिकारीमा युवा पुस्तालाई अवसर दिने अवधारणामा पनि छलफल भइरहेको जनाइएको छ ।

यता कांग्रेस इतर पक्षको गतिविधिलाई नेकपा -एमाले) र नेकपाले पनि नजिकबाट नियालिरहेका छन् । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा सम्भावित सहकार्य र गठबन्धनबारे विभिन्न तहमा अनौपचारिक संवाद भइरहेको नेताहरूको दाबी छ । नेकपाका शीर्ष नेताहरूले डा. शेखर कोइरालासँग भेटघाट गरिसकेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको आन्तरिक राजनीतिक अवस्थाबारे चासो राखिरहेको बताइएको छ । इतर पक्षका नेताहरूका अनुसार नयाँ राजनीतिक शक्ति गठन भएमा सो पार्टीसंग पनि सहकार्य गर्न एमाले र नेकपा दुवै सकारात्मक देखिएका छन् ।

यद्यपि नयाँ पार्टी गठन, नेतृत्व चयन, नाम र चुनाव चिह्नबारे अन्तिम निर्णय भने राष्ट्रिय भेलाले गर्ने जनाइएको छ । इतर पक्षका नेताहरूका अनुसार अबको प्राथमिकता संगठन विस्तार, कार्यकर्ता परिचालन र नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्दै आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने रहेको छ ।

Comment


Related News

Latest News

Trending News