२०८३ असार २३, मंगलवार ११:३४

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साताभित्र विभागमा उपस्थित हुन पत्र काटेको छ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको निवासमा सूचना टाँस गर्दै जयवीरलाई उपस्थित हुन भनेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा जयवीरसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा हाजिर हुन विभागले निर्देशन दिएको छ।

जारी सूचनामा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ। म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानुन बमोजिम हुनेछ।’

साथै, उक्त म्यादभित्र हाजिर नभएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले स्पष्ट पारेको छ। यसअघि विभागले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि पनि अनुसन्धानका लागि पत्र काटेको थियो।

Comment


Related News

Latest News

Trending News