२०८३ असार २३, मंगलवार १७:२३

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत सर्लाहीमा सशस्त्र प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै कारबाही गर्दै सबा करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध मालसामान बरामद गरेको छ।

नेपाल सीमा सुरक्षा गुल्म, मलंगवाका अनुसार गत आईतवार राति करिब ९ः३० बजे मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टमा सशस्त्र प्रहरीका इन्स्पेक्टर रवि भुजेलको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरूपमा लैजान लागिएको प्रदेश २–०४–००१ च ००९३ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको थियो।

जाँचका क्रममा गाडीबाट करिब १ लाख ७० हजार रुपैयाँ बराबरको १०० क्युबिक फिट ९२२ थान० काठ, ६० हजार रुपैयाँ बराबरको एक सेट बक्स पलङ तथा ५ लाख रुपैयाँ मूल्यको पिकअप गाडी गरी कुल ७ लाख ३० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको गुल्मले जनाएको छ।

घटनामा गोरखा घर भएका ३५ वर्षीय डोरबहादुर उपरकोटी र भारतको बिहार राज्य, सितामढी जिल्लाको बोखरा निवासी २८ वर्षीय मुकेश शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति तथा डिएसपी विष्णु अधिकारीले जानकारी दिएका छन्।

त्यसैगरी, सोही दिन दिउँसो करिब ३ बजे हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित सत्यनारायण साह तेलीले सञ्चालन गरेको कपडा पसलमा अवैध रूपमा लत्ताकपडा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा छापा मारिएको थियो।

डिएसपी अधिकारीको नेतृत्वमा नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको ४० सदस्यीय टोली, सर्लाही भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले गरेको कारबाहीमा राजस्व छली गरी ल्याइएका ९७ लाख १९ हजार ६३० रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी अधिकारीले बताए।
उनका अनुसार सीमावर्ती क्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी निरन्तर परिचालन भइरहे पनि छिटफुट रूपमा हुने चोरी निकासी पूर्ण रूपमा रोक्न स्थानीयवासी तथा सरोकारवाला निकायको समेत सक्रिय सहयोग आवश्यक रहेको छ।

Comment


Related News

Latest News

Trending News