करिब एक वर्षदेखि पर्साको पोखरिया नगरपालिकास्थित प्रादेशिक अस्पतालमा एक्स–रे मेसिन र प्रयोगशाला (ल्याब) सेवा बन्द रहेको छ । तर सो बन्दकै अवस्थामा त्यहाँ कार्यरत केही कर्मचारीले जोखिम भत्ता बुझेको तथ्य सार्वजनिक भएको छ ।
स्रोतका अनुसार अस्पतालको एक्स–रे र ल्याबमा कार्यरत राज कुशवाहा, राजु मण्डल, दिपक चौर सिया र सेराजुल अंसारीले जनही ८० हजार रुपैयाँका दरले जोखिम भत्ता बुझेका छन् । अस्पतालमा एक्स–रे र ल्याब सेवा सञ्चालनमै नरहेको अवस्थामा जोखिम भत्ता वितरण गरिएको हो ।
भत्ता बुझ्ने कर्मचारीहरुले आर्थिक अनियमितता र सार्वजनिक स्रोतको दुरुपयोग गरेको भन्ने आरोप स्थानीयस्तरमा लाग्न थालेको छ । सेवा सञ्चालन नभएको अवस्थामा जोखिम भत्ता उपलब्ध गराइनु प्रचलित व्यवस्थाविपरीत भएको दाबी गर्दै सरोकारवालाले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
कार्यालय स्रोतका अनुसार कार्यालय प्रमुख र लेखा शाखाका जिम्मेवार अधिकारीको मिलेमतोमा कर्मचारीलाई उक्त भत्ता उपलब्ध गराइएको आशंका गरिएको छ । लामो समयदेखि सेवा बन्द रहे पनि जोखिम भत्ता वितरण गरिनुले अनियमितताको आशंका बढाएको स्थानीयको भनाइ छ ।
स्थानीयवासी तथा सरोकारवालाले जोखिम भत्ता वितरणको आधार, रकम प्राप्त गर्ने कर्मचारीको विवरण र भुक्तानी प्रक्रियालाई सार्वजनिक गर्न माग गरेका छन् । साथै घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्न आग्रह गरेका छन् । सो विषयमा एक्स–रे विभागमा कार्यरत कर्मचारी राजु मण्डलले आफूहरूले जोखिम भत्ता बुझेको स्वीकार गरेका छन्। उनले एक्स–रे सेवा चैत महिनाको अन्तिम सातादेखि मात्र बन्द भएको दाबी गरेका छन् । मण्डलका अनुसार एक्स–रे मेसिन पूर्ण रूपमा बिग्रिएको नभई फिल्टर बिग्रिएका कारण सेवा प्रभावित भएको हो ।

