दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो । हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरिएको उहाले बताउनुभयो । उहाले कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र ६०२ जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको उल्लेख गर्नुभयो । उहाले कम्बोडियाबाट नेपाल फर्कन अनिच्छुक रहेका नेपालीका आफन्तहरूलाई उनीहरूलाई अनिवार्य रूपमा नेपाल फर्कनका लागि पहल गरिदिन विशेष आह्वान गरिएको बताउनुभयो । साथै प्रवक्ता पौडेलले आर्थिक कूटनीति सम्बन्धी कार्यक्रमहरू सरकारको प्राथमिकताको महत्वपूर्ण पिलरको रूपमा रहेको उल्लेख गर्दै नेपाल सरकार Úएक चीन नीतिÚ प्रति दृढ र प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
त्यस्तै उहाले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको स्पष्ट पार्नुभयो । विभिन्न देशहरूमा राजदूत नियुक्तिको विषय हाल प्रक्रियामै रहेको र यसमा हुने प्रगतिबारे आगामी दिनमा जानकारी गराउने उहाको भनाइ छ ।

