२०८३ असार २७, शनिबार ०७:४५

शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुका युवा गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ । काठमाण्डुस्थित त्रिपुरेश्वरमा बिहीबार भएको घटनापछि गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारकै क्रममा शुक्रबार उनको निधन भएको छ ।

अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालले चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको बताए । उनका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग गम्भीर रूपमा जलेको थियो । उपचारका लागि प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सकीय टोली परिचालन गरिएको थियो । तर चिकित्सकहरूले बिरामीको अवस्था अत्यन्त जटिल रहेकाले तत्काल आईसीयूबाट सार्न नमिल्ने सुझाव दिएपछि उनलाई विदेश लैजान सम्भव नभएको अस्पतालले जनाएको छ ।

घटनापछि उपचार व्यवस्थापनमा सरकारले विशेष चासो देखाएको थियो । गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित निकायका प्रतिनिधिहरू अस्पताल पुगेर उपचारको अवस्थाबारे जानकारी लिएका थिए । काठमाण्डु महानगरपालिकाले निषेधित क्षेत्रमा मोटरसाइकल पार्क गरेको भन्दै ह्विल लक लगाएपछि उत्पन्न विवादका क्रममा नेपालीले त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल वीर अस्पताल पु¥याइएको थियो । घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म राज्यका निकायको व्यवहार, जरिवाना प्रणाली तथा नागरिकसँगको संवाद शैलीबारे व्यापक बहस शुरु भएको छ । यता घटनापछि सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङका अनुसार नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन गरिएको हो।

समितिले घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । गृहमन्त्रीले जनाए अनुसार घटनासँग सम्बन्धित विषयमा सोधपुछका लागि काठमाडौं महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ । यसैबीच संयुक्त विद्यार्थी संगठनले काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गर्दै गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरिब, श्रमजीवी तथा सुकुम्बासीप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। उनीहरूले विकल्पबिनै सुकुम्बासीलाई विस्थापित गर्ने कार्य अन्यायपूर्ण भएको दाबी गर्दै अव्यावहारिक जरिवाना प्रणाली खारेज गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा सुकुम्बासीहरूको सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । २०७९ माघमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरमा संसद् भवन अगाडि आत्मदाह गरेका थिए ।

व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेको आर्थिक, प्रशासनिक तथा नीतिगत समस्याबारे सामाजिक सञ्जालमा लामो लेख सार्वजनिक गरेपछि उनले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो । उक्त घटनाले सरकारी सेवा प्रणाली, उद्यमीको समस्या तथा राज्यको उत्तरदायित्वबारे देशव्यापी बहस सिर्जना गरेको थियो ।

Comment


Related News