आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
नगरप्रमुख मनोजकुमार साहले आन्तरिक आय वृद्धि, पूर्वाधार विस्तार तथा शहरी उत्थानशीलता परियोजनालाई मुख्य प्राथमिकतामा राख्दै नगरसभामा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अनुसार नेपाल सरकारबाट प्राप्त हुने ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, मधेश प्रदेश सरकारबाट प्राप्त हुने करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, राजस्व बाँडफाँट, चालु आर्थिक वर्षको बचत रकम तथा अन्य स्रोतबाट बजेट व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
साथै, उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पनि निर्धारण गरेको छ । नगरप्रमुख साहले आगामी आर्थिक वर्षको बजेटले नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्दै आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताए ।
बजेटमा नगर सरसफाइ, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि विकास, रोजगारी सिर्जना, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, नगर सौन्दर्यीकरण र शहरी उत्थानशीलता परियोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले आगामी वर्ष विकास निर्माणसँगै सेवा प्रवाहको गुणस्तर सुधार, आन्तरिक आयको दायरा विस्तार तथा दिगो शहरी विकासलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

