नेपाल–भारत खुला सीमाको सहज आवागमनले दुई देशबीच सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाएको छ । तर यही खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध तस्करी गर्ने गिरोहहरू पनि पछिल्ला केही वर्षयता सक्रिय बन्दै गएका छन् ।
विशेषगरी मधेश प्रदेशसंग जोडिएका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाका सीमावर्ती नाकाहरू लागूऔषध ओसारपसारको संवेदनशील मार्गका रूपमा चिनिन थालेका छन् । हालै भारतको बिहार राज्यस्थित रक्सौलबाट दुई नेपालीसहित तीन जना ९.६० ग्राम ब्राउन सुगरसहित पक्राउ परेपछि फेरि एकपटक नेपाल– भारत सीमाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । भारतीय प्रहरीले पक्राउ परेका व्यक्तिहरू मकवानपुरबाट भारत पुगेको जनाएको छ ।
यस घटनाले नेपालका विभिन्न सुरक्षा जाँच चौकी पार गरेर लागूऔषध भारतीय भूमिसम्म कसरी पुग्यो भन्ने विषयमा गम्भीर बहस सुरु भएको छ । शुरुका वर्षहरूमा सीमापार गाँजा, चरेस तथा अफिमको तस्करी बढी हुने गरेको भए पनि पछिल्ला वर्षहरूमा ब्राउन सुगर, हेरोइन, कोकिन, नाइट्राभेट, ट्रामाडोल, स्पास्मो, डाइलेक्स डिसी, कोरेक्सजस्ता प्रतिबन्धित तथा नियन्त्रित औषधिको अवैध कारोबार उल्लेखनीय रूपमा बढेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
नेपाललाई उत्पादनस्थलभन्दा पनि ‘ट्रान्जिट रुट’का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । भारतबाट नेपाल र नेपाल हुँदै तेस्रो मुलुकसम्म लागूऔषध पु¥याउने अन्तरदेशीय गिरोह सक्रिय रहेको अनुसन्धानबाट पटक–पटक खुलेको छ । मधेश प्रदेशमा लागूऔषधको समस्या तस्करीमा मात्र सीमित छैन । प्रयोगकर्ताको संख्या पनि निरन्तर बढिरहेको छ ।
प्रहरीका अनुसार विद्यालय तथा कलेज उमेर समूहका किशोर– किशोरी र युवा लक्षित गरी लागूऔषध बिक्री वितरण हुने गरेको पाइन्छ । लागूऔषध ब्राउन सुगर, गाँजा, ट्याब्लेट र सिरपको प्रयोग बढ्दै जाँदा चोरी, लुटपाट, हिंसा, घरेलु विवाद तथा अन्य आपराधिक गतिविधिसमेत वृद्धि भएको सुरक्षा निकायको विश्लेषण छ ।
लागूऔषध दुव्र्यसनका कारण उपचार तथा पुनःस्थापनाको आवश्यकता पर्ने युवाको संख्या पनि बढ्दो क्रममा रहेको पुनस्र्थापना केन्द्रहरू बताउँछन् । लागूऔषधको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै मधेश प्रदेश प्रहरीले पछिल्ला केही वर्षदेखि ‘लागूऔषध नियन्त्रण तथा न्यूनीकरण अभियान’ सञ्चालन गर्दै आएको छ । मधेश प्रहरीले विभिन्न अवधिमा सार्वजनिक गरेका तथ्यांकअनुसार हजारौं किलोग्राम गाँजा, ठूलो मात्रामा प्रतिबन्धित औषधि, ब्राउन सुगर, अफिम तथा अन्य लागूऔषध बरामद भएका छन् ।
सयौं नेपाली तथा भारतीय नागरिक पक्राउ परेका छन् भने लागूऔषध कारोबारमा संलग्न अन्तरजिल्ला तथा अन्तरदेशीय सञ्जाल पनि उजागर भएका छन् । भारतको बिहार राज्यअन्तर्गत पर्ने पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया तथा किशनगञ्ज जिल्लाका प्रहरीले पनि सीमाक्षेत्रमा विशेष निगरानी बढाएका छन् ।
पूर्वी चम्पारण प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार एसपी सुवर्ण प्रभातको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत एक महिनामै ५४९ किलोग्राम गाँजा, १२ किलोग्राम अफिम, ५७ किलोग्राम डोडा (पोस्ता) तथा २० लाख ३६ हजार १२७ लिटर अवैध मदिरा बरामद गरिएको थियो । भारतीय सुरक्षाकर्मीले बारम्बार नेपालबाट तस्करी गरी पु¥याइएका लागूऔषध बरामद गरिरहँदा नेपालतर्फको सुरक्षा संयन्त्रको प्रभावकारितामाथि पनि प्रश्न उठ्दै आएको छ ।
रक्सौलमा पक्राउ परेका दुई नेपालीको घटनाले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ । हेटौँडाबाट भारत प्रवेश गर्न पथलैया, वीरगञ्जलगायतका विभिन्न सुरक्षा जाँच चौकी पार गर्नुपर्ने हुन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सारको उपस्थितिका बाबजुद लागूऔषध बोकेका व्यक्ति भारतीय भूमिसम्म कसरी पुग्न सफल भए ? नेपाल–भारतबीच करिब १ हजार ८ सय किलोमिटरभन्दा बढी खुला सीमा रहेको छ ।
मधेश प्रदेशसँग जोडिएको सीमाक्षेत्रमा दैनिक हजारौं मानिस आवतजावत गर्छन् । यही सहज आवागमनको फाइदा उठाउँदै लागूऔषध तस्करहरूले पैदल यात्रु, मोटरसाइकल, सार्वजनिक यातायात, मालवाहक सवारी, महिलादेखि बालबालिकासम्मलाई ‘क्यारियर’का रूपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्दै आएको छ ।
सुरक्षा विज्ञहरू लागूऔषध नियन्त्रण केवल पक्राउ र बरामदमा सीमित हुन नहुने बताउँछन् । पछिल्ला वर्षहरूमा सीमा नाका हुँदै हुने लागूऔषध तस्करीका घटना निरन्तर सार्वजनिक भइरहेका बेला सुरक्षा संयन्त्रको प्रभावकारिता, सीमा निगरानी र अन्तरदेशीय समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता झन् स्पष्ट देखिएको छ ।
विशेषज्ञहरूका अनुसार लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी होइन । यसका लागि संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, अभिभावक, स्वास्थ्य संस्था, समुदाय तथा नेपाल–भारत दुवै देशका सम्बन्धित निकायबीच दीर्घकालीन र समन्वित रणनीति आवश्यक छ ।

